राज्यबाट सहयोग नपाएपछि फेरि मातृभूमि छाड्न बाध्य भएँ : धुर्मुस

Image

हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले राज्यबाट कुनै सहयोग नपाएपछि आफू फेरि मातृभूमि छाड्न बाध्य भएको बताएका छन्।

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋणभार र अधुरो सपनाका कारण उत्पन्न समस्या समाधानका लागि राज्यबाट सहयोग नपाएपछि देश छाड्न बाध्य भएको उनको भनाइ छ।

सामाजिक सञ्जालमार्फत आफ्नो पीडा पोख्दै धुर्मुसले न्याय पाउने र आफ्नै देशमा बसेर फेरि दर्शकलाई हँसाउने ठूलो सपना बोकेर छोरीसहित नेपाल फर्किएको बताएका छन्। उनले दुई महिनासम्म समस्या समाधानका लागि राज्यका विभिन्न निकायको ढोका ढकढक्याए पनि आफ्नो आवाज नसुनिएको गुनासो गरेका छन्।

उनले लेखेका छन्, ‘यो पटक त १०० प्रतिशत हामीले न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठुलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ। दुई महिना अथक प्रयास गरेँ। राज्यका ढोका–ढोका पुगेँ। न्यायको आशामा राज्यलाई गुहारेँ। तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ।’

धुर्मुसले समस्या समाधान हुने त परको कुरा, भरतपुर महानगरपालिकाबाट विनियोजन भएको १५ करोड रुपैयाँ बजेटसमेत फ्रिज हुने अवस्थामा पुगेको बताएका छन्। १८ करोड ४३ लाख रुपैयाँको ऋणभार, अधुरा सपना र मनभरिको पीडा बोकेर फेरि देश छाड्न बाध्य भएको उनले उल्लेख गरेका छन्।

आफ्नै देशमा न्याय खोज्दा आफ्नो आवाज बेवारिसे भएको अनुभूति भएको बताउँदै उनले इमानदारीका साथ देशका लागि केही गर्ने सपना देख्नेहरूको नियति यस्तै हुने हो कि भन्ने प्रश्न समेत गरेका छन्।

‘१० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही होला,’ उनले लेखेका छन्।

मन निकै भारी भएको, आँखा रसाएका भए पनि हृदयमा आशा भने अझै बाँकी रहेको उनको भनाइ छ। कुनै दिन राज्यले सम्झिने, समयले सत्य बोल्ने र आफ्नो पीडा सुनिने विश्वास रहेको उल्लेख गर्दै उनले आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनु नपर्ने दिनको पर्खाइमा रहने बताएका छन्।