बुधबार बिहान आएको भोटेकोशी खोलाको बाढीले रसुवाको टिमुरे भन्सार कार्यालयको यार्डमा राखिएका २५० हाराहारीको संख्यामा मालवाहक कन्टेनर बगेका छन्।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले २२० देखि २५० वटासम्म मालवाहक कन्टेनर बगेको जानकारी दिए।
उनले भने, ‘बाढीपछिको क्षति अनुमान गर्न हाम्रो संघको बैठक बसेका थियौँ। यसअनुसार २५० वटासम्मको संख्यामा मालवाहक कन्टेनर बगेको अनुमान छ।’
त्यसैगरी संघसँग जोडिएका व्यवसायी, चालक, सहचालकलगायत सम्पर्कविहीनको नाम टिपिरहेको उनको भनाइ छ। हालसम्म ८० जनाको नाम टिपिएको छ।
कार्कीका अनुसार उनीहरु स्थानीयबाहेकका हुन्। अझैसम्म हराउनेहरुको एकीन विवरण नआइसकेको उनले जानकारी दिए।
बाढीबाट सुरक्षित बसेकाहरुसँग एकपटक सम्पर्क भएको पनि उनले बताए। यसरी सुरक्षित बस्नेको संख्या ६०÷७० रहेको पनि उनले जानकारी दिए।












