रसुवा बाढी: मृत्यु हुनेको संख्या १८ पुग्यो

Image

रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ।

नेपाल प्रहरीले बुधबार दिउँसो ३ बजेर ४५ मिनेटसम्मको विवरणअनुसार बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा १८ जनाको शव भेटिएको जनाएको छ।

जसमध्ये रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा तीन महिला र चार पुरुष गरी सात जनाको मृत्यु भएको छ।

त्यस्तै, धादिङमा तीन महिला, दुई पुरुष र एक जनाको पहिचान खुल्न बाँकी रहेको गरी छ जनाको शव भेटिएको प्रहरीले जनाएको छ। गोरखामा दुई पुरुष र दुई जनाको पहिचान नखुलेको गरी चार जनाको शव भेटिएको छ।

बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न निकाय तथा स्थानीयवासीको समन्वयमा खोजी तथा उद्धार कार्य भइरहेको छ।

यसका साथै बाढीका कारण विभिन्न स्थानमा अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको नेपाल प्रहरीले जनाएको छ।