फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

Image

इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेका पानीजहाजमाथि आक्रमण गरेको दाबी गरेका छन् । सो क्षेत्रमा पुनः सैन्य तनाव बढिरहेका बेला यस्तो दाबी सार्वजनिक भएको हो । इरानका अनुसार अमेरिकी पानीजहाज होर्मुज जलडमरू प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

तर, इरानको उक्त दाबीलाई अमेरिकाले तत्काल पुष्टि गरेको छैन । यो घटना अमेरिकी सेनाले इरानी तेल ट्यांकर तीनवटामाथि आक्रमण गरेको जनाएको एक दिनपछि भएको हो । अमेरिकी सेनाका अनुसार आफ्ना नौसैनिक युद्धपोतलाई लक्षित गरी गरिएको मिसाइल आक्रमणको जवाफमा ती तेल ट्यांकरमाथि कारबाही गरिएको थियो ।

अमेरिका र इरानबीचको पछिल्लो युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको थियो । जुन महिनामा युद्धविराम घोषणा भए पनि दुवै पक्षबीच पूर्ण रूपमा शान्ति कायम हुन सकेन । त्यसयता छिटपुट सैन्य गतिविधि जारी रहँदै आएको थियो ।

करिब एक महिनाको तुलनात्मक शान्तिपछि गत साता अमेरिका र इरानबीच पुनः आक्रमण सुरु भएको हो । पछिल्लो तनावमा होर्मुज जलडमरू र त्यस आसपासका इरानी क्षेत्रसमेत प्रभावित भएका छन् । यसै क्रममा दक्षिणी इरानमा अमेरिकी बमबारी हुँदा साताको सुरुवातमा कम्तीमा पाँच जनाको मृत्यु भएको एपीले जनाएको छ ।