जंगलमा हराएपछि ‘बाबु, बचाइहाल–बचाइहाल’ भन्दै फोन गरेका पूर्वमेयर किरण सिंह अझै भेटिएनन्

Image

कपिलवस्तुका पूर्वमेयर किरण सिंह बेपत्ता भएका छन् । उनको मोबाइल फोन शुक्रबार बेलुका पौने ६ बजेदेखि स्विच अफ भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी मनोहरप्रसाद भट्टका अनुसार शुक्रबार बेलुका पौने ६ बजेसम्म सिंहसँग फोन सम्पर्क भएको थियो । त्यसपछि भने मोबाइलमा सम्पर्क हुन सकेको छैन । मोबाइलको अन्तिम अवस्थालाई आधार बनाएर प्रहरीले प्राविधिक अनुसन्धानसमेत अघि बढाएको छ ।

प्रहरीका अनुसार सिंहले शुक्रबार आफ्ना एक व्यावसायिक साझेदारलाई फोन गरी ‘जंगलमा बाटो बिराएँ, सहयोग गर्नुपर्‍यो’ भन्दै आग्रह गरेका थिए । साझेदार बलराम तिवारीसँग बेलुका ५ बजेपछि करिब १०–११ सेकेन्ड मात्र कुराकानी भएको थियो । तिवारीका अनुसार सिंहले ‘बाबु, बचाइहाल–बचाइहाल’ भन्दै फोन काटेका थिए।त्यसपछि कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष मुहम्मद जहिद खाँले सिंहलाई फोन गर्दा करिब २२ सेकेन्ड कुराकानी भएको थियो। वडाध्यक्ष खाँका अनुसार सिंह निकै आत्तिएको र स्वाँस फुलेको अवस्थामा सुनिएका थिए। उनले आफू घना जंगलमा हराएको भन्दै खोजीका लागि सहयोग मागेका थिए।

वडाध्यक्ष खाँले तत्काल इलाका प्रहरी कार्यालय गोरूसिंगेका प्रहरी निरीक्षकलाई जानकारी गराएका थिए। प्रहरी निरीक्षकले पनि सिंहलाई फोन गर्दा उनले जंगलमा हराएको र आएर सहयोग गर्न आग्रह गरेको बताइएको छ।

यसअघि नै शुक्रबार दिउँसो सिंहको लु.प्र.०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल गोरूसिंगे जंगलमा फेला परेको थियो। कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट फार्ममा जाने भन्दै निस्किएका सिंहको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र जंगलमा रोकिराखेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

६५ वर्षीय सिंह प्रेसर र दमका बिरामी रहेको तथा धेरै हिँड्न नसक्ने अवस्थामा रहेको परिवारले प्रहरीलाई जानकारी गराएको छ। यही कारण खोजीमा प्रहरीले थप संवेदनशीलता अपनाएको जनाएको छ।

सिंहसहितका साझेदारले सोही जंगल क्षेत्रमा रिसोर्ट, बाख्रा तथा कुखुरा फार्म र माछापालनसहितको कृषि परियोजना सञ्चालन गर्ने तयारी गरिरहेको खुलेको छ। उनीहरू शुक्रबार सोही क्षेत्रमा कृषि फार्मका लागि स्थान हेर्नसमेत पुगेका थिए।

प्रहरीले शुक्रबार राति अबेरसम्म खोजी गरे पनि सिंह फेला पार्न सकेन। त्यसपछि शनिबार बिहानैदेखि कुकुरसहित प्रहरी र स्थानीयको ठूलो टोली परिचालन गरिएको थियो । निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार ८० भन्दा बढी प्रहरी र कुकुरसहित एक सयभन्दा बढी व्यक्ति खोजीमा खटिएका थिए । आज पनि उनी नभेटिएको प्रहरीको भनाई छ ।

सिंह नेपाली कांग्रेसबाट निर्वाचित भई पाँच वर्ष कपिलवस्तु नगरपालिकाको मेयरका रूपमा कार्यरत थिए। उनी हाल श्रीमतीसँग कपिलवस्तुमा बस्दै आएका थिए भने उनका एक छोरा जापान र अर्का छोरा भारतमा रहेको बताइएको छ।