हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
यतिबेला (आइतबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तर, आज वर्षा भने कतै नहुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।
आज राति पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । राति गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्खेक छ ।













