अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।
शुक्रबार भएको भेटवार्तामा भोटेकोसी बाढीबाट भएको जनधनको क्षति र प्रभावित सबैप्रति कार्यवाहक राजदूत बोल्डिनले सहानुभूति व्यक्त गरेकी छन्। खोज तथा उद्धार कार्य जारी नै रहेको अवस्थामा उनले हराइरहेका अमेरिकीसँगै अन्य मानिसको खोजीका लागि भइरहेको प्रयासप्रति आभार प्रकट गरेकी छन्।
उनले यस प्रतिकार्यमा अमेरिका नेपालसँग काँधमा काँध मिलाएर काम गरिरहेको उल्लेख गरेकी छन्। ‘हाम्रो सर्वोच्च प्राथमिकता हाम्रा अमेरिकी नागरिकको सुरक्षा हो र आफ्ना प्रियजनबारे जानकारी खोज्ने परिवारहरूलाई सहयोग गर्न हामीले कन्सुलर सेवामा वृद्धि गरेका छौँ,’ बोल्डिनले भनिन्, ‘नेपालको नेतृत्वमा देशभरिका प्रभावित समुदायमा भइरहेको विपद् प्रतिकार्यमा अमेरिकी सहायताले टेवा पुर्याइरहेको छ।’
अमेरिकाले ४० लाख अमेरिकी डलर (करिब ६१ करोड रुपैयाँ) भन्दा बढीको मानवीय सहायता तथा सहयोग परिचालन गरेको छ। जसमा खाद्यान्न तथा आपत्कालीन राहत, बन्दोबस्त सामग्री तथा उपकरण, विपद् पीडित पुनर्लाभका विशिष्टीकृत सामग्रीका साथै पीडितको पहिचान गर्न एफबीआईका फरेन्सिक विशेषज्ञहरू लगायत समावेश छन्।
नेपालले क्षति, विस्थापन र मानवीय आवश्यकताको आकलन गर्दै गर्दा अमेरिकाले नेपालसँग निकट रूपमा साझेदारी जारी राख्ने उनले बताएकी छन्।














