इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

Image

मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो अत्यन्त महत्त्वपूर्ण मानिएको पूर्वपश्चिम पाइपलाइन (इस्ट-वेस्ट पाइपलाइन) अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको छ।

इराकबाट सञ्चालित इरान समर्थित लडाकुहरूले हवाई ड्रोनमार्फत आक्रमण गरी पाइपलाइनका विभिन्न खण्डमा क्षति पुर्‍याएपछि सुरक्षा सतर्कता अपनाउँदै यो कदम चालिएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। विश्वकै सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको यो निर्णयले पहिले नै उच्च रहेको अन्तर्राष्ट्रिय ऊर्जाको मूल्यलाई अझै बढाउने चिन्ता थपेको छ ।

करिब १२ सय किलोमिटर लामो यो पाइपलाइन साउदी अरबका लागि रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ । अमेरिका र इरानबीच छ महिनादेखि जारी युद्धका कारण स्ट्रेट अफ हर्मुजमा समुद्री यातायात ठप्प प्रायः भएपछि साउदी अरबले यही पाइपलाइनमार्फत हर्मुज छलेर तेल निर्यात गर्दै आएको थियो ।

हालैका महिनाहरूमा दैनिक ४० देखि ५० लाख ब्यारेल तेल आपूर्ति गरिरहेको यो पाइपलाइन बन्द हुँदा विश्वव्यापी आपूर्तिमा ४ देखि ५ प्रतिशतसम्मको कटौती आएको छ। मदिना क्षेत्र नजिकै पाइपलाइनमा आक्रमण भएपछि कालो धूँवाको मुस्लो भूउपग्रह तस्बिरहरूमा देखिएको छ । साउदी विदेश मन्त्रालयले आक्रमणबाट केही मानिस घाइते भएको र क्षतिको आकलन भइरहेको बताएको छ ।

यो आक्रमणसँगै साउदी प्रायद्वीपको अर्कोतर्फ यमनका इरान समर्थित हुथी विद्रोहीहरूले पनि रातो सागर क्षेत्रमा आफ्नो पकड बलियो बनाएका छन् । हुथीहरूले बाब अल-मन्देब जलडमरूको मुखमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण पेरिम द्विप कब्जा गरेपछि ऊर्जा संकट झन् गहिरिएको छ र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ।

इरानको रिभलुसनरी गार्डको प्रत्यक्ष निर्देशन र सहयोगमा हुथीहरूले साउदी अरबविरुद्ध आक्रमण तीव्र पारेको प्रतिवेदनहरूले देखाएका छन्, जसका कारण साउदीको कच्चा तेल आपूर्ति विगत तीन दशकयताकै तल्लो स्तरमा झरेको छ।

दुवैतर्फबाट बढेको तनावले मध्यपूर्वमा व्यापक युद्धको खतरा बढाएको छ। घटनालगत्तै साउदी अरबले इराकी प्रधानमन्त्रीको आग्रहमा तत्कालै कुनै सैन्य जवाफी कारबाही नगरे पनि आफ्नो सुरक्षाका लागि आवश्यक कदम चाल्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ । यता इराकले पनि आक्रमणको निन्दा गर्दै इरानसँग जोडिएको सीमावर्ती क्षेत्रका सैन्य कमान्डरलाई बर्खास्त गरेको छ र अनुसन्धान तीव्र बनाएको छ। क्षेत्रीय सङ्कट गहिरिँदै जाँदा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरी हुथीविरुद्ध सैन्य सहयोग मागेका छन् ।

यद्यपि, अमेरिकाले तत्काल प्रत्यक्ष सैन्य कारबाही गर्न अस्वीकार गर्दै गुप्तचर सूचना र लक्षित निगरानीमा मात्र सहयोग गर्ने जनाएको छ। नोभेम्बरमा हुने कंग्रेसको निर्वाचन नजिकिँदै गर्दा अमेरिकामा बढेको इन्धनको मूल्यले राजनीतिक दबाब सिर्जना गरिरहेका बेला उत्पन्न यो नयाँ संकटलाई सुल्झाउन आगामी सोमबार ओमानमा इरान र खाडी मुलुकहरूबीच छलफल हुने अपेक्षा गरिएको छ।