ब्रिक्स संयुक्त घोषणामा भारतले जुटायो सहमति, ‘एकतर्फी युद्ध’को भर्त्सना

Image

दिल्लीमा जारी १८ औँ ब्रिक्स शिखर सम्मेलनमा संयुक्त घोषणा जारी गर्न सदस्य राष्ट्रहरू सहमत भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली घोषणा २०२६ अनुमोदन भएको घोषणा गरे।

गत रातभरिको प्रयासपछि साझा वक्तव्यमा सहमति जुटाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। इरान, यूएई र साउदी अरबबीच विभिन्न विषयमा विवाद थियो। त्यस्तै, रुस, चीन र भारतबीच पनि सहमति नहुनसक्ने अनुमान गरिँदै आएको थियो।

तर, घोषणापत्रमा ‘एकपक्षीय युद्ध’को भर्त्सना गरिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। त्यस्तै, एकपक्षीय अन्तर्राष्ट्रिय कानुनविपरीत लगाइएको एकपक्षीय प्रतिबन्धात्मक व्यवस्थाहरूको पनि विरोध गरेको छ। एएनआईका अनुसार गाजामा युद्धविरामको पालना गर्न सबै पक्षलाई आह्वान गरिएको छ।

साथै मध्यपूर्वमा बढ्दो द्वन्द्व र आणविक युद्धको जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ।

त्यसका अलावा, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको पुनर्संरचना, समुद्री नाविक र व्यावसायिक जल यातायातको सुरक्षाको कुरा पनि उठाइएको छ। र, आतंकवादको भर्त्सना पनि गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ग्लोबल साउथ’ निर्णायक बन्नुपर्ने बताएका छन् भने चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय सार्वभौमसत्ता र आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गर्न आह्वान गरेका छन्।