पश्चिम एसियामा जारी तनावका बीच होर्मुज जलमार्गको प्रतिबन्धित क्षेत्रबाट गुज्रिरहेको तेल ट्यांकर ‘एल गैया’मा आगलागी भएको छ । मंगलबार सार्वजनिक भएको भिडियो फुटेजमा ट्यांकरबाट धुवाँको ठूलो मुस्लो उठिरहेको देखिन्छ ।
इरानी समाचार एजेन्सी ‘फार्स’ले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सलाई उद्धृत गर्दै उक्त ट्यांकर प्रतिबन्धित क्षेत्रबाट गुज्रिने क्रममा समुद्री बारुदी सुरुङको चपेटामा परेको रिपोर्ट सार्वजनिक गरेको थियो ।
फुटेजमा देखिएको जहाजको मुख्य भाग, मस्तुल र ब्रिजका आधारमा क्षतिग्रस्त ट्यांकर ‘एल गैया’नै भएको पुष्टि भएको बताइएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले इरानी रिपोर्टलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । अमेरिकी सेनाका अनुसार उक्त तेल ट्यांकर गत महिना इरानी मिसाइल आक्रमणको चपेटामा परेको थियो । त्यसयता नै निष्क्रिय अवस्थामा रहेको थियो ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री संठनले ‘एल गैया’ शनिबार दुर्घटनाग्रस्त भएको रिपोर्ट दिएको छ । यद्यपि, दुर्घटना कसरी भएको हो भन्नेबारे संठनले स्पष्ट जानकारी दिएको छैन । अन्तर्राष्ट्रिय समुद्री संठनका अनुसार जहाजका चालक दलका दुई सदस्य अझै बेपत्ता छन् ।
ब्रिटिस नौसेनासँग सम्बद्ध एजेन्सी ‘युके म्यारिटाइम ट्रेड अपरेसन्स’ले पनि शनिबार होर्मुज जलमार्गभित्र एक अज्ञात जहाजमाथि प्रक्षेप्यास्त्रबाट आक्रमण भएको र त्यसपछि आगलागी भएको जनाएको थियो । घटनापछि चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ ।
‘एल गैया’ इरानले होर्मुज जलमार्गमा लागु गरेका सञ्चालनसम्बन्धी प्रोटोकल उल्लंघन गरेको आरोप लगाएका ७७ वटा जहाजको सूचीमा समावेश थियो । इरानले भविष्यमा यात्रा गर्दा यी जहाजमाथि जरिबाना, जफत वा नियन्त्रणमा लिनेजस्ता कारबाही हुन सक्ने चेतावनी दिएको थियो ।













