नेपालले एसियाली खेलकुदको महिला भलिबलतर्फ बुधबार घरेलु टोली जापानको सामना गर्दै छ । समूह ‘ए’ अन्तर्गतको यो खेल कोमाकी, आइचीस्थित ‘कोमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्न्यासियममा नेपाली समयअनुसार दिउँसो ४ः०५ मा सुरु हुनेछ ।
यसपटक नेपालसहित एसियाका उत्कृष्ट १४ टोलीले एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोली लगातार दोस्रोपटक एसियाली खेलकुदमा सहभागी हुँदै छ । यसअघि २०२३ मा चीनमा सम्पन्न एसियाली खेलकुदमा नेपालले पहिलोपटक प्रतिस्पर्धा गरेको थियो ।
नेपालको समूहमा इन्डोनेसिया पनि छ । दुवै विश्व वरीयतामा नेपालभन्दा माथि छन् ।
एफआईभीबी विश्व वरीयतामा जापान छैटौँ स्थानमा रहँदा इन्डोनेसिया ५३औँ र नेपाल ६९औँ स्थानमा छन् । एभीसी वरीयतामा भने जापान पहिलो इन्डोनेसिया नवौँ र नेपाल ११औँ स्थानमा छन् ।
नेपाली टोलीलाई यसपालि पनि जगदीश भट्टले नेतृत्व गर्दै छन् । गत संस्करणमा उनी सहायक प्रशिक्षकको भूमिकामा थिए ।
त्यतिबेला नेपालले भियतनाम र दक्षिण कोरियासँग प्रतिस्पर्धा गरेको थियो । दुवै खेलमा नेपालले सोझो सेटको हार बेहोरेको थियो ।
२०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन यही सेप्टेम्बर १९ (असोज ३) जापानको नागोयास्थित मिजुहो पार्क एथ्लेटिक रंगशालामा हुने भए पनि विभिन्न खेलको प्रतिस्पर्धाहरू भने सुरु भइसकेका छन् ।
औपचारिक उद्घाटनअघि नै बास्केटबल र फुटबलको खेलहरू सुरु भइसकेका छन् । बास्केटबल सेप्टेम्बर १० र महिला फुटबल सेप्टेम्बर १४ बाट सुरु भएको हो ।
यसैगरी, आजदेखि महिला भलिबलसँगै मोडर्न पेन्टाथलन पनि सुरु हुनेछ ।
नेपाली टोली : निरुता ठगुन्ना (कप्तान), सलिना श्रेष्ठ, उषा भण्डारी, सुमित्रा रेग्मी, मीना सुनार, सुनिता खत्री, वसन्ती साउद, आरती सुवेदी, प्रगती नाथ, सलिना बुढामगर, रीमा कुँवर, लक्ष्मी चन्द














