इजरायललाई ४० हजार शक्तिशाली बमसहित २.८ अर्ब डलरको हतियार दिने अमेरिकाको तयारी

Image

डोनाल्ड ट्रम्प प्रशासनले २.८ अर्ब अमेरिकी डलरको प्रस्तावित हतियार सम्झौताअन्तर्गत इजरायललाई दुई हजार पाउन्ड क्षमताका ४० हजार शक्तिशाली बम उपलब्ध गराउने तयारी गरिरहेको रोयटर्सले जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार, प्रस्तावित प्याकेजमा २० हजार एमके–८४ र २० हजार बीएलयू–११७ बम रहेका छन् ।

यो सम्झौताको ठूलो हिस्सा ‘फोरेन मिलिटरी फाइनान्सिङ’ मार्फत भुक्तानी गरिने बताइएको छ । यस व्यवस्थाअन्तर्गत अमेरिकाले इजरायललाई उपलब्ध गराउने सैन्य सहायता रकमबाटै इजरायलले हतियार खरिद गर्नेछ ।

हतियार प्याकेज अझै अन्तिम चरणमा नपुगेकाले आफ्नो परिचय गोप्य राख्ने सर्तमा अमेरिकी अधिकारीहरूले यसबारे जानकारी दिएका हुन् । समाचारमा जनाइएअनुसार यसबारे अमेरिकी कंग्रेसलाई अनौपचारिक रूपमा जानकारी गराइसकिएको छ ।

गाजामा बढ्दो अन्तर्राष्ट्रिय दबाब र नाजुक युद्धविरामका बाबजुद हिंसा जारी रहेका बेला यो कदम अघि बढाइएको हो । सन् २०२४ मा तत्कालीन बाइडेन प्रशासनले घनावस्ती रहेको गाजामा ठूलो संख्यामा सर्वसाधारण हताहत हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै दुई हजार पाउन्डका यी बमको एक खेप रोकेको थियो । तर, डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति बनेपछि उक्त प्रतिबन्ध हटाइएको थियो ।

यसअघि ट्रम्प प्रशासनले कंग्रेसको सामान्य समीक्षा प्रक्रियालाई पन्छाउँदै इजरायलका लागि ३५ हजार ५०० भन्दा बढी बमसहित करिब तीन अर्ब डलरबराबरको हतियार सम्झौता स्वीकृत गरेको थियो । त्यसपछि जनवरीमा ६.६७ अर्ब डलरबराबरको अर्को हतियार प्याकेजलाई पनि स्वीकृति दिइएको थियो ।

फेब्रुअरीमा दुवै देशले इरानविरुद्ध युद्ध सुरु गरेपछि ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच केही मतभेद र तनाव देखिएको थियो । यद्यपि, नयाँ प्रस्तावित सम्झौताले दुई देशबीचको सैन्य तथा रणनीतिक गठबन्धन अझै बलियो रहेको संकेत गर्ने बताइएको छ ।

दुई हजार पाउन्डका बमका विभिन्न संस्करण हुन्छन् । केही बम भूमिगत वा जमिनभित्र रहेका लक्ष्य भेदनका लागि डिजाइन गरिएका हुन्छन् भने केही जमिनमाथि विस्फोट भएर ठूलो क्षेत्रमा क्षति पुर्‍याउन सक्छन् ।

विज्ञहरूका अनुसार, इजरायलले गाजामा हमासको सुरुङ सञ्जाललाई निसाना बनाउन अमेरिका निर्मित यस्ता हतियार प्रयोग गरेको छ । तर, घनावस्ती भएका क्षेत्रमा यस्ता शक्तिशाली बम प्रयोग गर्दा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।

अक्टोबरमा युद्धविराम लागु भएपछि मुख्य भिडन्त कम भए पनि इजरायली हमलाहरू पूर्ण रूपमा रोकिएका छैनन् । हमास तथा अन्य सशस्त्र समूहले इजरायली सैनिकमाथि आक्रमण गरेको र त्यसको जवाफमा मात्र हवाई हमला गरिएको इजरायलको दाबी छ ।

यसैबीच, ट्रम्पका ज्वाइँ जेरेड कुश्नरले युद्धविराम सम्झौतालाई अघि बढाउन तथा हमलाहरू कम गर्न इजरायली प्रधानमन्त्री नेतन्याहुसँग छलफल गरिरहेका छन् ।