विपद्बारे प्रधानमन्त्रीले संवाद गरेर राष्ट्रिय धारणा बनाउनुपर्छ: माधवकुमार नेपाल

Image

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विपद्को विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले राजनीतिक दल तथा विज्ञसँग संवाद गरेर राष्ट्रिय धारणा बनाउनुपर्ने बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले विपद् व्यवस्थापनजस्तो राष्ट्रिय विषयमा प्रधानमन्त्री शाहले अन्तरपार्टी संवादलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। उनले व्यस्तताबीच पनि प्रधानमन्त्रीले विभिन्न राजनीतिक दललाई बोलाएर परामर्श गर्नुपर्ने र विज्ञहरूसँग छलफल गरी आगामी कार्यदिशा तय गर्नुपर्ने बताए। 

पछिल्लो विपद्का विषयमा सरकार केही पछि परेको जस्तो देखिएको उनको भनाइ छ। ‘हालको विपदमा अझै उद्धार तथा खोजी, राहत वितरण, उपचार, पुनर्स्थापना र पीडितको यथार्थ तथ्यांक संकलनमा सरकारको विशेष ध्यान जान आवश्यक छ। राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ,’ उनले भने। 

सर्वदलीय बैठकमा पहिले गठन भएको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने र समय–समयमा त्यसको बैठक आयोजना गर्ने विषयमा छलफल भएको उनले बताए। साथै संसदभित्र विशेष समिति गठनका लागि सभामुखसमक्ष आग्रह गर्ने विषयमा पनि सहमति बनेको उनले बताए। 

‘हालको जलवायुजन्य विपद्को अवस्थालाई ध्यानमा राख्दै दुई वटा विषयमा विशेष जोड दिइएको छ,’ नेपालले भने, ‘पहिलो, सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिई समय–समयमा बैठक आयोजना गर्ने। दोस्रो, संसद्भित्र विशेष संसदीय समिति गठन गर्न सम्माननीय सभामुखज्यूसमक्ष आग्रह गर्ने।’

राहत र पुनर्स्थापनाको काममा समेत सरकारको थप सक्रियता आवश्यक रहेको उनको भनाइ छ। वास्तविक पीडितको पहिचान, क्षतिको तथ्यांक संकलन, राहत वितरणको अनुगमन र पुनर्स्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनले बताए। 

जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असरलाई अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा उठाउनुपर्नेमा उनले जोड दिए। नेपालले विगतदेखि नै हिमाली मुलुकका समस्या र जलवायु क्षतिपूर्तिको विषय उठाउँदै आएको उल्लेख गर्दै आगामी अन्तर्राष्ट्रिय मञ्चमा पनि सरकारले यसलाई प्राथमिकताका साथ प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ। 

‘यस्ता राष्ट्रिय महत्त्वका विषयमा प्रधानमन्त्रीले स्वयं सर्वदलीय तथा विज्ञहरूसँग नियमित संवाद र परामर्श गरी स्पष्ट राष्ट्रिय धारणा निर्माण गर्न आवश्यक छ,’ नेपालले भने, ‘जलवायु विपद् र त्यसबाट उत्पन्न क्षतिका विषयमा सरकार, संसद्, राजनीतिक दल तथा विज्ञहरूबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्छ।’

सर्वदलीय बैठकमा सहभागी दलहरूको दायरा थप फराकिलो बनाउनुपर्ने विषयसमेत उठेको नेपालले जानकारी दिए। उनले रास्वपा सभापति रवि लामिछानेले बैठकका लागि पहल गरेको र सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी भएको उल्लेख गर्दै अब प्रधानमन्त्रीले पनि राजनीतिक दलहरूसँग प्रत्यक्ष संवाद अघि बढाउनुपर्ने बताए।