मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक दुवैतर्फ पूर्ण रूपमा सञ्चालनमा आएको छ।
माथिबाट खसेको लेदोका कारण शुक्रबार बिहान केही समय उक्त सडकखण्डमा यातायात एकतर्फी रूपमा मात्रै सञ्चालन भएको थियो। सडकमा लेदो थुप्रिएपछि सवारी साधन सञ्चालनमा समेत समस्या भएको थियो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकमा जम्मा भएको लेदो पन्छाएपछि बिहान ९:१५ बजेदेखि यातायातका साधन दुवैतर्फ सहज रूपमा सञ्चालनमा आएका हुन्।
सडक पूर्ण रूपमा खुलेसँगै केही समयदेखि रोकिएका सवारी साधनहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्। वर्षाका कारण सडकखण्डमा पहिरो तथा लेदो खस्ने जोखिम रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।














