इरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित लालसागर तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
साउदी अधिकारीहरूले भने शनिबार रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेर नष्ट गरेको बताएका छन् । अन्य आक्रमणबारे उनीहरूले पुष्टि गरेका छैनन् । आक्रमणबाट भएको मानवीय क्षतिबारे पनि आधिकारिक विवरण सार्वजनिक भएको छैन ।
शनिबार बिहान रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इन्धन भण्डारण ट्यांकीबाट कालो धुवाँको मुस्लो उठेको देखिएको थियो । घटनापछि विमानस्थलमा उडानहरू केही समय प्रभावित भएका थिए ।
जुलाईमा हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेयता शनिबार पहिलोपटक रियादमा हवाई आक्रमणको चेतावनी सुनिएको थियो ।साउदी नागरिक सुरक्षा निकायले राति रियादसहित विभिन्न क्षेत्रमा सम्भावित खतराबारे मोबाइल फोनमा सूचना पठाएको थियो । शनिबार बिहान भने जोखिम टरेको भन्दै ‘अल क्लियर’ जारी गरिएको थियो ।
एएफपीका अनुसार रियादमा विस्फोटका आवाज सुनिएका थिए । स्थानीय बासिन्दाले पनि चेतावनीपछि विस्फोटजस्तो आवाज आएको बताएका छन् । ‘मैले अलार्म सुनेँ, त्यसपछि झ्यालहरू हल्लिए,’ उत्तरी रियादका २७ वर्षीय एक बासिन्दाले एएफपीसँग भनेका छन्, ‘त्यो निकै डरलाग्दो थियो । मैले यस्तो होला भनेर सोचेको थिइनँ ।’
यसैबीच, एएफपीका पत्रकारले अरामकोको इन्धन ट्यांकीमा लागेको आगो निभाउन अग्निनियन्त्रकहरू खटिएको देखेको बताएका छन् ।
हुथी सैन्य प्रवक्ता याह्या अल–सारियाले अनलाइनमार्फत जारी गरेको वक्तव्यमा रियादका ‘संवेदनशील स्थल’ र यान्बुस्थित साउदी सरकारी तेल तथा ग्यास कम्पनी अरामकोलाई निशाना बनाइएको दाबी गरेका छन् । उनका अनुसार आक्रमणमा ठूलो संख्यामा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरिएको थियो ।
हुथी सैन्य प्रवक्ता सारियाले आक्रमणलाई यमनको राजधानी सानामाथि साउदी अरबले गरेको भनिएको आक्रमणको जवाफका रूपमा व्याख्या गरेका छन् । साना हाल हुथी विद्रोहीको नियन्त्रणमा छ ।
यसअघि उनले पछिल्लो एक सातामा साउदी अरबले यमनका विभिन्न क्षेत्रमा ३०० पटक आक्रमण गरेको आरोप लगाएका थिए । तर, हुथीले दाबी गरेअनुसारका सबै आक्रमण र तिनबाट भएको क्षतिको स्वतन्त्र पुष्टि भएको छैन ।
अन्य सहरमा पनि आक्रमणको प्रयास। अमेरिकी नागरिकलाई यात्रा पुनर्विचार गर्न आग्रह
साउदी नेतृत्वको गठबन्धनका एक प्रवक्ताले बिश, ताइफ, फरासान र यान्बु सहरमा सर्वसाधारणलाई लक्षित गर्ने प्रयासलाई हवाई प्रतिरक्षा प्रणालीले विफल बनाएको बताएका छन् । यद्यपि, ती घटनामा कति क्षेप्यास्त्र वा ड्रोन प्रयोग भए र कस्तो क्षति भयो भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।














