रास्वपाको राजनीतिक आधार क्षेत्र मधेसमा द्वन्द्व हुन दिँदैनौँ : अमरेशकुमार सिंह

Image

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मधेसमा द्वन्द्व हुन नदिने बताएका छन् ।

आइतबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मधेसलाई जात, धर्म भूगोल वा राजनीतिको नाममा विभाजित गरी द्वन्द्वको मैदान बनाउन नहुने उनले बताए। 

उनले मधेस रास्वपाको राजनीतिक आधार क्षेत्र रहेको उल्लेख गरे । देशको अबको राजनीति समाज जोड्ने, एकता कायम गर्ने र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

मधेस र कोसी प्रदेशलाई ‘ब्याटल ग्राउण्ड’ बनाउन देशभित्र र बाहिरका विभिन्न शक्तिहरू सक्रिय रहेको दाबी गर्दै त्यसबाट जोगाउनुपर्ने   सिंहले बताए । ”हाम्रो अहिलेको बाटो एकताको बाटो हुनुपर्छ, समृद्धिको बाटो हुनुपर्छ,” उनले भने ,” ‘म कुनै पनि तरिकाको मधेसमा द्वन्द्व चाहन्नँ । मधेसलाई आउने दिनमा ब्याटल ग्राउन्ड बनाउन दिइँदैन ।’

उनले छठपछि मेची महाकाली पदयात्राको घोषणा पनि गरेका छन् ।  उक्त यात्रामा स्थानीयका समस्या सुन्ने उनले बताए । सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक आधारमा मधेसको महत्त्वपूर्ण भूमिका रहेको दाबी गर्दै मधेसले पार्टीलाई दिएको समर्थनअनुसार विकास र राजनीतिक सहभागितामा पनि प्राथमिकता पाउनुपर्ने बताए । 

 मधेसबाट प्राप्त जनमतलाई सरकारले गम्भीर रूपमा बुझ्नुपर्ने र मधेसको विकासमा त्यसअनुसार ध्यान दिनुपर्ने  सिंहले बताए ।