हुम्लाको सिमिकोटमा ‘रेकर्ड ब्रेक’ वर्षा, ४८ वर्ष पुरानो रेकर्ड तोडियो

Image

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर वर्षा भएको छ । यो सिमिकोटमा मापन भएको अहिलेसम्मकै उच्च वर्षा हो । योसँगै सिमिकोटमा गएको २४ घण्टा अवधिमा भएको वर्षाले ४८ वर्ष पुरानो उच्च रेकर्ड तोडेको छ।

मौसम तथा जलवायु विज्ञान कार्यालय, सुर्खेतकी प्रमुख डा। इन्दिरा कडेलका अनुसार असोज ९ गते बिहान ८ः४५ बजेदेखि असोज १० गते बिहान ८ः४५ बजेसम्म सिमिकोटमा ११४।८ मिलिमिटर वर्षा मापन भएको हो ।

यो सन् १९७८ जुन १ देखि २०२६ सेप्टेम्बर २६ सम्मको अभिलेखमा २४ घण्टे अवधिको सबैभन्दा धेरै वर्षा हो । यसअघि सिमिकोटमा सन् २०२१ अक्टोबर १९ मा ११० मिलिमिटर वर्षा भएको थियो । उक्त वर्षालाई यसअघिको उच्च रेकर्ड मानिएको थियो ।

डा। कडेलले सिमिकोटमा यसपटक २४ घण्टे वर्षाले पुरानो सबै रेकर्ड तोडेको बताएकी छन् ।

समुद्री सतहबाट २ हजार ९९३ मिटर उचाइमा रहेको सिमिकोटमा यसअघि पनि ९० मिलिमिटरभन्दा बढी वर्षा भएका घटना अभिलेखमा छन् । सन् २०१५ जनवरी ३ मा ९८ मिलिमिटर, सन् २००० जुन ९ मा ९२।८ मिलिमिटर र जुन ८ मा ९०।४ मिलिमिटर तथा सन् २०१७ मे ३ मा ८४ मिलिमिटर वर्षा भएको थियो ।

४८ वर्षको दीर्घकालीन अभिलेखअनुसार सिमिकोटमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा यसअघि दुई दिन, ७५ मिलिमिटरभन्दा बढी वर्षा सात दिन र ५० मिलिमिटरभन्दा बढी वर्षा १३ दिन भएको थियो ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण पछिल्ला तीन दिनदेखि उच्च हिमाली क्षेत्रमा हिमपात तथा पहाडी र तराई क्षेत्रमा वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् ।