गगनका राजनीतिक सारथी सुवेदी कांग्रेस सहमहामन्त्रीको दौडमा

Image


नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता तथा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले सहमहामन्त्री (खुला) पदमा उम्मेदवारी दर्ता गराएका छन्। लामो समयदेखि पार्टी सभापति गगनकुमार थापासँग राजनीतिक सहकार्य गर्दै आएका सुवेदीले यसपटक आफूलाई केन्द्रीय पदाधिकारीका रूपमा अघि सारेका हुन्।

विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका सुवेदीको राजनीतिक यात्रा नेविसंघबाट सुरु भएको हो। काठमाडौं शिक्षा क्याम्पसको स्ववियु सभापतिदेखि नेविसंघको केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उनी विद्यार्थी आन्दोलन हुँदै पार्टी राजनीतिमा स्थापित भएका नेता हुन्।

गगन थापासँग विद्यार्थी राजनीतिदेखिकै निकट राजनीतिक सहकार्यका कारण सुवेदीलाई कांग्रेसभित्र थापाका राजनीतिक सहयात्रीका रूपमा समेत हेर्ने गरिएको छ। दुवैबीचको लामो सहकार्य संगठन निर्माणदेखि पार्टीका वैचारिक विषयसम्म देखिँदै आएको छ। सुवेदी र थापाको सहलेखनमा ‘नेपाली कांग्रेस र संविधानसभा’ पुस्तकसमेत प्रकाशित भएको छ।

विद्यार्थी आन्दोलनदेखि पार्टी नेतृत्वसम्म
सुवेदीले २०५३ सालमा नेपाल विद्यार्थी संघको इकाइ राजनीतिबाट आफ्नो सक्रिय राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि काठमाडौं शिक्षा क्याम्पसको इकाइ नेतृत्व हुँदै २०६२ सालमा स्ववियु सभापति बने। २०६२/६३ को जनआन्दोलनका क्रममा उनी विद्यार्थी आन्दोलनको अग्रपंक्तिमा सक्रिय थिए।

नेविसंघको केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकको जिम्मेवारीसमेत सम्हालिसकेका सुवेदी पार्टीको महाधिवेशन प्रतिनिधिका रूपमा पनि निरन्तर सक्रिय छन्। यसपटक उनी तेस्रोपटक महाधिवेशन प्रतिनिधि बनेका हुन्। उम्मेदवारी दर्तापछि सुवेदीले कांग्रेस अहिले पुस्तान्तरणको चरणमा रहेको भन्दै नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभवबीच द्वन्द्व होइन, समन्वय आवश्यक रहेको बताएका छन्।

उनको उम्मेदवारीको मुख्य राजनीतिक तर्क नै नयाँ र पुरानो पुस्ताबीचको दूरी घटाउँदै पार्टीभित्र विचार, संगठन र नेतृत्वलाई जोड्ने रहेको छ। आफूलाई कुनै एउटा पुस्ताको प्रतिनिधि मात्र नभई दुवै पुस्ताबीचको ‘सेतु’का रूपमा स्थापित गर्ने उनको दाबी छ।

प्रदेशसभामा पनि उठाउँदै आएका छन् सुशासनका सवाल

गण्डकी प्रदेशसभा सदस्यका रूपमा सुवेदीले प्रदेशको बजेट निर्माण तथा योजना छनोट प्रक्रियामा देखिने टुक्रे आयोजना र पहुँचका आधारमा योजना छनोट हुने प्रवृत्तिमाथि प्रश्न उठाउँदै आएका छन्। पार्टी राजनीतिसँगै नीति, सुशासन र संगठन सुधारका विषयलाई आफ्नो राजनीतिक प्राथमिकतामा राख्दै आएको उनको भनाइ छ।

कांग्रेसको १५औँ महाधिवेशनमा खुला सहमहामन्त्री पदमा सुवेदीसँगै देवेन्द्रराज कँडेल र रामहरि खतिवडाले पनि उम्मेदवारी दर्ता गरेका छन्। त्यसैले खुला सहमहामन्त्रीको प्रतिस्पर्धा पार्टीभित्र चासोको विषय बनेको छ।

विद्यार्थी राजनीतिबाट सुरु भएको लामो राजनीतिक यात्रा, गगन थापासँगको निरन्तर सहकार्य, प्रदेशसभाको अनुभव र पुस्तान्तरणको बहसलाई जोडेर सुवेदीले केन्द्रीय पदाधिकारीमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। अब कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको निर्णयले उनको राजनीतिक यात्राको अर्को अध्याय तय गर्नेछ।