रुसको साइबेरियास्थित इर्कुत्स्कको प्लेग अनुसन्धान संस्थानमा कार्यरत २८ वर्षीया महिला वैज्ञानिकको निधनपछि सम्भावित प्लेग सङ्क्रमणबारे आशंका बढेको छ ।
रुसी अधिकारीहरूले प्लेग सङ्क्रमणको आशंका अस्वीकार गर्दै उनको मृत्यु अज्ञात कारणले भएको निमोनियाबाट भएको बताएका छन् । मृतकको सम्पर्कमा आएका करिब २०० जनालाई चिकित्सकीय निगरानीमा राखिएको छ भने संस्थानका ६० भन्दा बढी कर्मचारीलाई परिसरभित्रै सीमित गरिएको छ । विश्व स्वास्थ्य संगठनले इर्कुत्स्कमा हालै प्लेगको कुनै केस दर्ता नभएको जानकारी रुसले दिएको बताएको छ ।
अधिकारीहरूले सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी निगरानी र परीक्षण गरे पनि उच्च जोखिमयुक्त कुनै रोगजनक पुष्टि नभएको बताएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशकले ती महिलालाई भएको गम्भीर निमोनियाको कारण स्पष्ट पार्न आवश्यक रहेको बताएका छन् ।
रिपोर्टअनुसार इर्कुत्स्क र आसपासका क्षेत्रका बाल अस्पताल तथा प्रसूति अस्पतालसहित केही अस्पतालमा प्रतिबन्ध लगाइएको थियो । महिलाको उपचार भएको अस्पताललाई समेत क्वारेन्टाइन गरिएको थियो । युरोपेली आयोग र ईयू सदस्य राष्ट्रका स्वास्थ्य अधिकारीहरूले उक्त घटनालाई बुधबार बिहान हुने स्वास्थ्य सुरक्षा समितिको बैठकको एजेन्डामा समावेश गरेका छन् ।
गम्भीर विदेशी स्वास्थ्य खतराको मूल्यांकन गर्ने ईयूको हेल्थ सेक्युरिटी कमिटीको बैठक बुधबार बिहान ब्रसेल्समा बसिरहेको छ ।युरोपेली आयोगका एक प्रवक्ताले युरोन्युजलाई घटनाबारे पुष्टि गर्दै रसियाको उक्त घटना हेल्थ सेक्युरिटी कमिटीको एजेन्डामा रहने बताएका छन् ।













