यमनका हुथी विद्रोहीले बुधबार बिहान ब्यालिस्टिक मिसाइल र विस्फोटक ड्रोनमार्फत सरकार नियन्त्रित एडेन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको यमनको यातायात मन्त्रालयले जनाएको छ ।
हुथी नियन्त्रणबाहिर रहेको एडेन विमानस्थल यमनको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार हो । यमनका सुरक्षा अधिकारीहरूले हुथी विद्रोहीले प्रहार गरेका कम्तीमा दुई मिसाइल अदन अन्तर्राष्ट्रिय विमानस्थलमा खसेको बताएको रोयटर्सले जनाएको छ ।
इजिप्टबाट आएको विमान अवतरण गर्नुभन्दा केही मिनेटअघि धावनमार्गनजिकै मिसाइल खसेपछि उक्त विमानलाई जेद्दातर्फ मोडिएको थियो । थप आक्रमणको जोखिमपछि धावनमार्गमा रहेका दुई विमानलाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ ।
हुथी सैन्य प्रवक्ता याह्या सारेईले साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । साउदी अधिकारीहरूले भने यसको तत्काल पुष्टि गरेका छैनन् ।
साउदी नेतृत्वको गठबन्धनले रियादको उत्तरतर्फ अर्को हुथी ब्यालिस्टिक मिसाइल आकाशमै नष्ट गरेको जनाएको छ ।
उक्त मिसाइल हुथी नियन्त्रणमा रहेको साना क्षेत्रबाट प्रहार गरिएको गठबन्धनको दाबी छ ।यमनका विभिन्न मोर्चामा भिडन्त तीव्र भइरहेका बेला यी आक्रमण भएका हुन् । पछिल्ला हप्तामा हुथीले लालसागरको तटीय क्षेत्रमा नियन्त्रण विस्तार गरेपछि साउदी समर्थित सरकारी सेनाले प्रत्याक्रमण तीव्र पारेको छ ।
साउदी नेतृत्वको गठबन्धनको हवाई सहयोगमा सरकारी बलले लालसागरको तटीय क्षेत्र फिर्ता लिन सैन्य कारबाही बढाएको छ ।













