बूढीगण्डकीमा आकस्मिक बाढीको जोखिम कायमै, सतर्क रहन आग्रह

Image

बूढीगण्डकी नदीमा आकस्मिक बाढीको सतह घटबढ भइरहेकाले नदी करिडोर क्षेत्रमा जोखिम कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार गोरखाको आरुघाटमा बूढीगण्डकी नदीको बाढीले बिहान ७ बजेर ५० मिनेटमा खतराको तह पार गरेको थियो । त्यसबेला नदीको सतह ५.१ मिटर पुगेको थियो । आरुघाटमा ५ मिटरलाई खतराको तह मानिन्छ ।

हाल बाढीको सतह खतराको तहभन्दा केही घटे पनि नदीको बहावमा उतारचढाव भइरहेकाले जोखिम नटरेको पराजुलीले बताए । नदी थुनिने र पुनः खुल्ने क्रमका कारण बाढीको सतह घटबढ भइरहेको हुन सक्ने उनको अनुमान छ ।

बूढीगण्डकी नदीको अधिकांश भाग साँघुरो रहेकाले बाढीको सतह पुनः बढेमा थप क्षति हुन सक्ने उनले बताए ।

जोखिम कायम रहेकाले बूढीगण्डकी करिडोर हुँदै त्रिशूली नदीको दोभानसम्मका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । नदी छेउछाउ नजान र सुरक्षित उच्च स्थानमा बस्न पनि सुझाव दिइएको छ ।

पराजुलीका अनुसार बेनीघाटभन्दा तल त्रिशूली नदी क्षेत्रमा भने बाढीको जोखिम तुलनात्मक रूपमा कम छ । हालको अवस्थालाई हेर्दा त्रिशूली नदीमा बाढीको सतह करिब एक मिटर बढ्न सक्ने अनुमान गरिएको उनले बताए ।

बूढीगण्डकीमा बाढीको सतह घटेको भए पनि पुनः बढ्न सक्ने सम्भावना रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।