नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत नेपाली सङ्गीत क्षेत्रमा नयाँपन ल्याउने लक्ष्य राखेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकर्ड्सले र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन्। सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। दर्शक तथा श्रोताले सिरिजका गीत र म्युजिक भिडियो ‘एक्स्ट्रिम म्युजिक सिरिज’को आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सक्नेछन्।
सिरिजको पहिलो सिजनमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ जना कलाकार सहभागी हुनेछन्। फरक–फरक सङ्गीत शैली र सिर्जनात्मक पहिचान बोकेका यी कलाकारले सिरिजमार्फत आफ्नो मौलिक प्रतिभा प्रस्तुत गर्नेछन्।
परम्परागत सङ्गीत शैलीभन्दा फरक प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले सिरिज सुरु गरिएको आयोजकले जनाएको छ। यसले नयाँ पुस्ताका कलाकारलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली सङ्गीत क्षेत्रमा नयाँ प्रयोग र सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकले यस पहलमार्फत नेपाली सङ्गीतका नयाँ प्रतिभालाई उजागर गर्दै स्थानीय सङ्गीत संस्कृति र सिर्जनात्मक उद्योगको प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखेको छ। नियमित रूपमा नयाँ मौलिक गीत सार्वजनिक गर्ने योजनासहित अघि बढेको ‘एक्स्ट्रिम म्युजिक सिरिज’ले नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब र नयाँ सिर्जनात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको छ।














