यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन नेपालबाट बाहिरिएको हो । नेपालमा मनसुन बाहिरिने सरदर (औसत) मिति अक्टोबर २ भएता पनि यस वर्ष १२ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जनाएको छ ।
यसअघि गत असोज १७ गते (अक्टोबर ३) का दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बहिर्गमनको सुरूआत भएको थियो। आज असोज २८ गतेसम्म आइपुग्दा मनसुन देशैभरिबाट बाहिरिएको छ ।
नेपालबाट मनसुन प्रणाली बाहिरिए तापनि स्थानीय वायु र पश्चिमी वायुको प्रभाव अझै रहन सक्ने भएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचनाको जानकारी लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।















