यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

Image

यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

आक्रमणमा परी मृत्यु हुनेमा प्रधानमन्त्रीका दुई सुरक्षागार्डहरु पनि छन् । यो जानकारी यमनका स्वास्थ्य मन्त्रीले दिएको अलजजिराले जनाएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।

रोयटर्सका अनुसार आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्रीहरु राष्ट्रपति भवन परिसरमा थिए । यद्यपि, सरकारका उच्च अधिकारीहरू भने सकुशल रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार राष्ट्रपति भवन परिसर आसपास कम्तीमा पाँचवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका थिए । आक्रमणपछि परिसरमाथि धुवाँको ठूलो मुस्लो देखिएको थियो । प्रारम्भिक विवरणअनुसार परिसरमा कम्तीमा पाँचवटा मिसाइल प्रहार भएका थिए ।

हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिँदै अदनमा रहेको साउदी अरबको सैन्य अभियान मुख्यालयलाई निशाना बनाएको दाबी गरेका छन् ।

हुथी सैन्य प्रवक्ता याह्या सरीले साउदी अरबको सैन्य उपस्थितिलाई लक्षित गर्ने आफ्नो घोषित नीतिअनुसार आक्रमण गरिएको बताएका छन् । उनका अनुसार साउदी सेनाको सैन्य गतिविधि र जमघट देखिएका स्थानलाई निशाना बनाइनेछ ।

साउदी अरबका विमानस्थल र तेल केन्द्रमा पनि आक्रमणको प्रयास

हुथी विद्रोहीले साउदी अरबका विभिन्न विमानस्थल, बन्दरगाह र तेल केन्द्रलाई समेत लक्षित गर्दै ड्रोन र मिसाइल प्रहार गर्दै आएको छ । यमनका सरकारी सुरक्षा बललाई साउदी अरबले समर्थन गरेको विरोधमा हुथीहरूले ती आक्रमण गरेको बताइएको छ ।

साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यसै महिना हुथीहरूले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा २० पटक आक्रमण गरेको दाबी गरिएको छ । ती आक्रमणमा १७ जनाको मृत्यु र ३३३ जना घाइते भएको गठबन्धनको भनाइ छ ।

त्यस्तै, दक्षिणपश्चिमी साउदी अरबमा यमनको सीमावर्ती क्षेत्रमा रहेको आभा विमानस्थलमा भएका आक्रमणमा तीन जनाको मृत्यु र २८ जना घाइते भएको पनि गठबन्धनले जनाएको छ । हुथीले प्रहार गरेको क्षेप्यास्त्रलाई रोक्न नसकेपछि साउदीको हवाई प्रतिरक्षा प्रणालीमा प्रश्न उब्जिएको छ ।

साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता अल–मलिकीले हुथी विद्रोहीले क्षेत्रका केही पक्षको सहयोगमा आधुनिक सैन्य प्रविधि प्राप्त गरिरहेको आरोप लगाएका छन् । उनका अनुसार विद्रोही समूहसँग ब्यालिस्टिक मिसाइल, ड्रोन तथा विस्फोटक पदार्थ जडित तीव्र गतिका डुंगाहरुसमेत छन् ।

उनले यमनका पहाडी क्षेत्रमा रहेका हतियार भण्डारणस्थल र मिसाइल प्रक्षेपण केन्द्र गरी १२७ वटा स्थान गठबन्धनले नष्ट गरेको दाबी पनि गरेका छन् । नागरिक तथा नागरिक संरचनालाई लक्षित गर्ने आक्रमण तत्काल रोक्न उनले हुथी विद्रोहीसँग आग्रह गरेका छन् ।

साउदी हवाई क्षेत्र असुरक्षित रहेको हुथीहरूको चेतावनी

अल–मलिकीको पत्रकार सम्मेलनलगत्तै हुथी सैन्य प्रवक्ताले विमान सेवा प्रदायकहरूलाई पुन: चेतावनी दिएका छन् । उनले साउदी अरबका विमानस्थल र हवाई क्षेत्र असुरक्षित रहेको बताएका छन् ।

तर उक्त चेतावनीमा मक्का र मदिनामाथिको हवाई क्षेत्रलाई भने समावेश नगरिएको विवरणमा उल्लेख छ । साउदी अरबका विमानस्थलमा भएका आक्रमणपछि खाडी क्षेत्रको हवाई सेवा प्रभावित भएको छ । इत्तेहाद एयरवेज र कतार एयरवेजले साउदी अरबका विभिन्न सहरमा हुने उडान रद्द तथा स्थगित गरेका छन् ।

इत्तेहाद एयरवेजले अबुधाबीबाट साउदी अरबका रियाद, दमाम र जेद्दाह जाने तथा त्यहाँबाट फर्कने विभिन्न उडान रद्द गरेको जनाएको छ । कम्पनीको वेबसाइटअनुसार अबुधाबी–रियाद रुटका सबै उडान अक्टोबर १९ अर्थात् आगामी कात्तिक २ गतेसम्म रद्द गरिएका छन् ।

अबुधाबी–दमाम रुटमा पनि उडान प्रभावित भएका छन् । सोमबारका केही उडान रद्द गरिएका छन् भने मंगलबार र बुधबारका सबै उडान स्थगित गरिएको कम्पनीले जनाएको छ । कतार एयरवेजले पनि रियाद र दमाम जाने तथा त्यहाँबाट फर्कने उडान अस्थायी रूपमा स्थगित गरेको छ ।