सलमान खानलाई बिश्नोई समाजसँग माफी माग्न आग्रह

Image

बलिउड अभिनेता टाइगर श्रॉफमाथि गोली प्रहार भएको घटना सार्वजनिक भएपछि अभिनेता सलमान खान र लरेन्स बिश्नोईबीचको पुरानो विवाद फेरि चर्चामा आएको छ। यसैबीच, बिश्नोई समाजका एक प्रतिनिधिले सलमान खानलाई समाजसँग माफी मागेर विवाद अन्त्य गर्न आग्रह गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, जोधपुरका बिश्नोई समाजसँग सम्बन्धित देवेन्द्र बुढियाले सलमानले माफी मागेमा लामो समयदेखि जारी विवाद संवादमार्फत शान्तिपूर्ण रूपमा समाधान हुन सक्ने बताएका छन्।

बुढियाका अनुसार, कुनै समुदायसँग माफी माग्दैमा व्यक्तिको प्रतिष्ठा घट्दैन। बरु, आफ्नो तर्फबाट पहल गरेर माफी माग्दा विवाद समाधानको बाटो खुल्न सक्छ।

भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै बुढियाले आफूले करिब डेढ वर्षअघि पनि सलमान खानलाई सम्झाउने प्रयास गरेको दाबी गरेका छन्।

उनले सलमानलाई आफ्नो स्टारडम र सुरक्षाको ख्याल गर्दै विवाद समाधानका लागि गम्भीर हुन आग्रह गरेको बताए। त्यतिबेला सलमानले माफी माग्ने विषयमा सहमति जनाएको भए पनि पछि भेट हुन नसकेको उनको दाबी छ।

‘सलमान खानले माफी नमागेसम्म म प्रयास गरिरहनेछु। मैले उनलाई करिब डेढ वर्षअघि पनि धेरै सम्झाएको थिएँ। तपाईंको ज्यान जान सक्छ, तपाईं सुपरस्टार हुनुहुन्छ, यस्तो नगर्नुहोस् भनेको थिएँ। उनले हुन्छ, गर्छु भनेका थिए, तर पछि भेट नै भएन,’ बुढियाले भने।

बुढियाले सलमान खानलाई बिश्नोई समाजको मन्दिरमा आएर माफी माग्न आग्रह गरेका छन्। बिश्नोई समाजले उदारता देखाउँदै संवादमार्फत विवाद समाधान गर्न सक्ने उनको विश्वास छ।

उनले लरेन्स बिश्नोईसँग समेत कुराकानी गरेको दाबी गरेका छन्। बुढियाका अनुसार, उनले लरेन्सलाई विवाद थप नबढाउन र कसैलाई हानि पुर्‍याउनुभन्दा संवादको बाटो रोज्न सुझाव दिएका थिए।

सलमानले एक वर्षभित्र माफी माग्न सक्ने भन्दै लरेन्सलाई १२ महिनाको समय दिनसमेत आफूले आग्रह गरेको बुढियाले बताएका छन्।

सलमान खान र बिश्नोई समुदायबीचको विवाद विगतमा कालो हरिणको शिकारसम्बन्धी घटनालाई लिएर चर्किएको थियो। यही विवादका कारण सलमानले पटक–पटक सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ।