गत हप्ता हिंसा र लुटपाटका घटना भएपछि फ्रान्समा आज पुनः महँगीविरुद्ध देशव्यापी प्रदर्शन हुँदै छ ।
सम्भावित हिंसा नियन्त्रण गर्न सरकारले करिब ७० हजार सुरक्षाकर्मी, २० बख्तरबन्द सवारीसाधन र पानीको फोहोरा हान्ने १५ वटा सवारीसाधन परिचालन गर्ने तयारी गरेको छ ।
गत शनिबार पाँच लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए । त्यसक्रममा पसलमा तोडफोड र लुटपाट तथा सवारीसाधनमा आगजनी भएको थियो । हालसम्म दुई हजार ७०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन् । गत सप्ताहान्तमा कम्तीमा तीन हजार पसलमा क्षति पुगेको छ । व्यवसायीहरूको संगठनले करोडौँ डलर बराबरको आर्थिक क्षति भएको जनाएको छ ।
हिंसाको जोखिमलाई ध्यानमा राख्दै विभिन्न सहरमा रात्रिकालीन कफ्र्यु र भेला हुन प्रतिबन्ध लगाइएको छ । पेरिसको लुभ्र संग्रालय बन्द रहनेछ । पेरिस सेन्ट–जर्मेन र लियोनबीचको फुटबल खेल स्थगित गरिएको छ ।
पेरिसमा कफ्र्यु सोमबारसम्म बढाइएको छ भने मार्सेई र लियोनमा शनिबार भेला हुन रोक लगाइएको छ । बोर्दो, नीस र उत्तरी फ्रान्सका विभिन्न सहरमा पनि कफ्र्यु जारी छ । केही क्षेत्रमा बालबालिका तथा किशोरकिशोरीलाई राति बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।
विद्यालयको दयनीय अवस्थालाई लिएर सुरु भएको आन्दोलन अहिले महँगी, बढ्दो जीवनयापन खर्च र सरकारी सेवासुविधामा गरिएको कटौतीविरुद्ध फैलिएको छ । राष्ट्रपति इम्यानुएल माक्रोंले शुक्रबार छात्र संगठनका प्रतिनिधिसँग भेटवार्ता गरेका छन् । प्रदर्शन सुरु भएयता छात्र संगठनसँग उनको यो पहिलो प्रत्यक्ष बैठक हो ।
माक्रोंले यसअघि सप्ताहान्तमा मजदुर संगठनका प्रदर्शनलाई मात्र अनुमति दिने बताएका थिए । त्यसप्रति असन्तुष्टि जनाउँदै प्रमुख छात्र संगठन यूएनईएफले प्रतिबन्धका बाबजुद आज र्याली निकाल्ने घोषणा गरेको छ । संगठनले सरकारले प्रदर्शन गर्ने अधिकार खोस्न खोजेको आरोप लगाएको छ ।
वामपन्थी दल ‘फ्रान्स अनबाउड’का नेता जाँ–लुक मेलँसोंले प्रतिबन्धको आलोचना गर्दै सरकार र प्रहरीको कार्यशैलीले परिस्थिति थप बिगारेको आरोप लगाएका छन् ।
पेरिसमा सुपरमार्केट, विद्युतीय सामग्रीका पसल, बैंक र महँगा ब्रान्डका बिक्रीकक्षमा तोडफोड तथा लुटपाट भएको थियो । प्रदर्शनकारीले सवारीसाधनमा आगजनी गर्नुका साथै सडकमा अवरोध खडा गरेका र सार्वजनिक पूर्वाधारमा क्षति पुर्याएका थिए । मध्य फ्रान्सको लिमोज सहरमा रहेको १९औँ शताब्दीको ऐतिहासिक नगर भवनमा समेत क्षति पुगेको छ ।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाबाट प्रभावित व्यवसायीलाई कर छुट र आर्थिक राहत उपलब्ध गराउने घोषणा गरेका छन् । छात्र संगठन र ‘येलो भेस्ट’ आन्दोलनका सहभागीले शनिबार पुनः प्रदर्शन गर्ने तयारी गरेका छन् भने मजदुर संगठनहरूले नोभेम्बर ५ मा आमहडताल गर्ने घोषणा गरेका छन् । हिंसा दोहोरिए अन्य क्षेत्रमा पनि कफ्र्यु लगाउन सकिने सरकारले चेतावनी दिएको छ ।
राष्ट्रपति माक्रोंले हिंसाका लागि कट्टरपन्थी वामपन्थी समूह र लुटपाटमा संलग्नलाई जिम्मेवार ठहर गरेका छन् । प्रधानमन्त्री लेकोर्नुले पनि केही समूहले जानाजानी प्रहरी, सरकारी भवन र अन्य सम्पत्तिलाई निशाना बनाएको आरोप लगाएका छन् । मुख्य विपक्षी दलकी नेतृ मरिन लेपेनले भने सरकार कानुनव्यवस्था कायम राख्न असफल भएको आरोप लगाउँदै हिंसाले लोकतन्त्रसमेत खतरामा पार्न सक्ने चेतावनी दिएकी छन् ।















