प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले केही वर्षमै एनपीएल नेपालको ठूलो खेलकुद महोत्सवका रूपमा विकास भएको बताएका छन्।
उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिता सफल बनाउन शुभकामना दिएका छन्।
‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ,’ उनले लेखेका छन्। प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको दीर्घायुको कामना गर्दै ‘लङ लिभ नेपाली क्रिकेट’ समेत भनेका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्।
यी दुई टोलीबीचको खेल आज अपराह्न साढे ४ बजे सुरु हुने तालिका छ। प्रतियोगितामा अघिल्ला संस्करणकै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स उपाधिका लागि मैदानमा उत्रिनेछन्।
सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगिता लिग चरणपछि इलिमिनेटर र क्वालिफायर हुँदै अघि बढ्नेछ। प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ।















