दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु

Image

सुदूरपश्चिम प्रदेशमा यस वर्ष दशैँका बेला सवारी दुर्घटनामा वृद्धि भएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका कुल दुर्घटनाभन्दा यस वर्ष दशैँकै अवधिमा बढी दुर्घटना भएका हुन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घटस्थापनादेखि शुक्रबारसम्म प्रदेशभर १५२ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २४३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सबैभन्दा बढी दुर्घटना कैलालीमा भएका छन् । कैलालीमा ८८ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन् । त्यस्तै, कञ्चनपुरमा ३५ वटा दुर्घटना हुँदा दुई जनाको मृत्यु र ५० जना घाइते भएका छन् ।

अन्य जिल्लामा भने सवारी दुर्घटनामा परी मानवीय क्षति भएको छैन । डडेल्धुरामा १०, डोटीमा आठ, अछाममा पाँच, दार्चुला र बाजुरामा दुई/दुई तथा बझाङ र बैतडीमा एक/एक वटा दुर्घटना भएका छन् । यी जिल्लामा भएका दुर्घटनामा ४७ जना घाइते भएका छन् ।

गत वर्ष दशैँदेखि छठ पर्वसम्म सुदूरपश्चिम प्रदेशभर १२२ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो भने २५३ जना घाइते भएका थिए । तर, यस वर्ष दशैँकै अवधिमा दुर्घटनाको संख्या १५२ पुगेको छ ।

गत वर्षको दशैँदेखि छठसम्मको अवधिको तुलनामा यस वर्ष दशैँमै ३० वटा बढी दुर्घटना भएका छन् । यद्यपि, मृत्यु हुनेको संख्या २३ बाट घटेर छ जनामा झरेको छ भने घाइते हुनेको संख्या पनि २५३ बाट घटेर २४३ पुगेको छ ।

चाडपर्वका बेला सवारी दुर्घटनाको संख्या बढ्दै जानुले दुर्घटना नियन्त्रण तथा न्यूनीकरण चुनौतीपूर्ण बन्दै गएको देखाएको छ । दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको संख्या घट्नु सकारात्मक भए पनि दुर्घटनाको समग्र संख्या बढ्नुले सडक सुरक्षामा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।