नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दुवै खेलमा टोलीहरू जितसहित प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।
दिनको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।
राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सन्दीप लामिछानेको कप्तानीमा विराटनगर मैदान उत्रनेछ। मार्की खेलाडीसमेत रहेका सन्दीपको नेतृत्वमा विराटनगर पहिलो खेलमै जित निकाल्दै प्रतियोगितामा बलियो सुरुवात गर्न चाहन्छ।
यता, कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज पनि जितको खोजीमा हुनेछ। विराटनगरविरुद्ध मैदान उत्रँदा चितवनको प्रदर्शनमा समर्थकको विशेष नजर रहनेछ। यसअघिका दुई सिजन खेलाडीका रूपमा खेलेका सोहेल तनविर यसपटक चितवनको प्रशिक्षकका रूपमा रहेका छन्।
त्यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।
पहिलो संस्करणको च्याम्पियन जनकपुर यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा अघि बढ्ने योजनामा छ। जनकपुर सुरुवातदेखि नै लय समात्दै उपाधि यात्रालाई बलियो बनाउन चाहन्छ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स भने जनकपुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ।
आजका दुवै खेलले एनपीएलका टोलीहरूको प्रारम्भिक लय र प्रतिस्पर्धात्मक क्षमताको संकेत गर्ने अपेक्षा गरिएको छ।














