जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियन्त्रणमा राखेको छ।
बिहीबार प्रहरीले रजौरियालाई सिरहाको लहान र रिजाललाई सिन्धुलीबाट पक्राउ गरी काठमाडौँ पठाएको थियो। प्रहरी स्रोतका अनुसार दुवैलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा राखिएको छ।
सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सुनकोसी मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासम्बन्धी विषयमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
राष्ट्रिय गौरवको उक्त आयोजनाको ठेक्का एकपटक रद्द भएपछि पुनः प्रक्रिया अघि बढाइएको थियो। नयाँ प्रक्रियामा तीन चिनियाँ कम्पनी योग्य ठहरिएका छन्। ती कम्पनीको आर्थिक प्रस्ताव कात्तिक १६ गते खोल्ने मिति तय गरिएको थियो।















