भाइटीकाको अवसरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ।
वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुने भक्तजनले पूजा तथा दर्शन गरी टीका लगाउने परम्परा छ। बुधबार बिहानैदेखि भक्तजनको सुविधाका लागि मन्दिर खुला गर्न आवश्यक तयारी पूरा गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।
यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा, दर्शन तथा टीका लगाउने चलन छ। संस्कृतिविद् एवं गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनका अनुसार विगतमा रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि विसं २०३५ अघिसम्म मन्दिर बन्द रहने गरेको थियो। त्यसबेला दाजुभाइ वा दिदीबहिनी नहुनेहरू जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला भएर भाइटीका मनाउने गर्थे।
विसं २०३५ पछि भने रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन नियमित रूपमा खुल्न थालेको हो। विसं २०७२ को गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि विसं २०७७ सम्म भक्तजनहरू खञ्जनेश्वर महादेव मन्दिर पुग्ने गरेका थिए। पुनर्निर्माण सम्पन्न भएपछि विसं २०७७ देखि बालगोपालेश्वर मन्दिर पुनः भक्तजनका लागि खुला गरिएको हो।
उता, नेवार समुदायले भाइटीकाको दिनलाई किजापूजाका रूपमा मनाउने गर्छन्। कुल परम्परा र चलनअनुसार कसैले भाइटीकाकै दिन त कसैले अघिल्लो दिन किजापूजा गर्ने गरेका छन्।
भक्तपुरका अधिकांश नेवार समुदायले भने मंगलबार नै किजापूजा गरेका छन्। तलेजु मन्दिरका पुजारी तथा ज्योतिषीको निर्णयअनुसार भक्तपुरमा मंगलबार किजापूजा गरिएको जनाइएको छ।














