भीमफेदीमा गाडी दुर्घटनामा परेका अधिकांश एकै गाउँका, जाँदै थिए छठ मनाउन

Image

मकवानपुरको भीमफेदीमा यात्रु बोकेको गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट गाडी करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनामा परेको गाडीमा सवार यात्रु छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीस्थित गाउँ फर्किंदै थिए। उनीहरूले काठमाडौँको टीकाथलीबाट गाडी रिजर्भ गरेका थिए। घाइतेमध्येका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादवका अनुसार उनीहरू राति करिब २ बजे टीकाथलीबाट यात्रा सुरु गरेका थिए।

गाडीमा चालकसहित करिब १४ जना सवार थिए। अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त थिए। ‘गाडीमा मसँगै करिब १४ जना थियौँ। अधिकांश एउटै गाउँका छिमेकी र आफन्त थियौँ,’ हेटौँडा अस्पतालमा उपचाररत यादवले बताए।

उनको परिवारका सदस्य भने गाडीमा थिएनन्। यादवको टाउको र ढाडमा चोट लागेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालिकाको मृत्यु भएको छ।

घाइते हुनेमा तीन पुरुष र दुई बालक छन्। घाइतेमध्ये मुकेश यादवसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादवको पहिचान खुलेको छ।

सक्षमको शरीरमा भित्री चोट लागेको छ। उनको अवस्था सामान्य छ। टाउको र मुखमा चोट लागेका सुदनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते पाँचै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी खोजतलास तथा उद्धार भइरहेको छ।

दुर्घटनाको जानकारी बिहान ५:५५ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो।

त्यसपछि प्रहरी उपरीक्षक खत्रीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट थप टोली परिचालन गरिएको थियो। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ। भिरालो क्षेत्रमा गाडी खसेकाले सुरक्षाकर्मीले खोजतलास जारी राखेका छन्।

मृतकको पहिचान खुलाउने र दुर्घटनाको कारण पत्ता लगाउने काम भइरहेको प्रहरी उपरीक्षक खत्रीले बताए।