फास्ट ट्र्याकको महादेवटार सुरुङको आज ब्रेक थ्रु हुँदै, राष्ट्रपति पौडेल सहभागी हुने

Image

राष्ट्रिय गौरवको आयोजना तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङमार्गको आज ब्रेक थ्रु गरिने भएको छ ।

महादेवटारमा निर्माणाधीन समानान्तर दुई सुरुङमध्ये एउटा सुरुङको ब्रेक थ्रु राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुन लागेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत बिहान साढे ९ बजे महादेवटार पुग्ने कार्यक्रम तय भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ लाई जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेको छ । आज ब्रेक थ्रु गरिने सुरुङको लम्बाइ ३ किलोमिटर ४४५ मिटर रहेको छ ।

यसअघि समानान्तर अर्कोतर्फको ३ किलोमिटर ४८६ मिटर लामो सुरुङको गत भदौमै ब्रेक थ्रु भइसकेको छ ।

फास्ट ट्र्याकअन्तर्गत हाल सातवटा सुरुङ निर्माणाधीन छन् । नेपाली सेनाले आयोजनालाई १३ वटा प्याकेजमा विभाजन गरी निर्माण कार्य अघि बढाइरहेको छ । तीमध्ये प्याकेज १ देखि १० सम्मका विभिन्न खण्ड निर्माण तथा कार्यान्वयनको चरणमा रहेका छन् ।