युक्रेनमाथि जारी रुसी आक्रमण अन्त्य गर्न युरोपेली नेताहरू रुससँग प्रत्यक्ष वार्ता गर्न तयार भएका छन् । तर, युक्रेनको सार्वभौमिकता, भौगोलिक अखण्डता र सुरक्षा हितविपरीत हुने कुनै पनि सम्झौता स्वीकार नगर्ने उनीहरूले स्पष्ट पारेका छन् ।
जर्मनीको राजधानी बर्लिनमा आयोजित युक्रेनका सहयोगी राष्ट्रहरूको समूह ‘कोलिसन अफ द विलिङ’ को शिखर सम्मेलनमा युरोपेली नेताहरूले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
सम्मेलनमा सहभागी नेताहरूले युक्रेनको पक्षमा एकजुट समर्थन जनाउँदै रुससँग वार्ता गर्न युरोपको साझा र स्पष्ट धारणा रहेको बताएका छन् ।
बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले युरोपको वार्तासम्बन्धी दृष्टिकोण स्पष्ट, निरन्तर र एकीकृत रहेको बताए । जर्मन चान्सलर फ्रेडरिक मर्जले भने रुसले अघि सारेका अधिकतम मागहरू यथार्थपरक नभएको टिप्पणी गरे ।
सम्मेलनमा सहभागी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जेरेड कुश्नरले युरोपलाई समेत साथमा लिएर रुससँग सम्झौता गर्ने ट्रम्पको चाहना रहेको बताए । उनका अनुसार अमेरिकी राष्ट्रपति युक्रेनमा शान्ति सम्भव रहेको निष्कर्षमा पुगेका छन् ।
यसअघि ट्रम्पले चीनको सेन्जेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय वार्ता गरेका थिए ।
रुससँग वार्ताको प्रस्ताव, पुटिनको सर्त
रुसी राष्ट्रपति पुटिनले युरोपेली नेताहरूलाई आफ्नो धारणा स्पष्ट पार्न मस्को आउन निमन्त्रणा गरिएको बताएका छन् । युरोपसँग छलफल भएपछि युक्रेनसँग कुन ढाँचामा संवाद अघि बढाउने भन्ने निर्णय गरिने उनको भनाइ छ ।
यद्यपि, वार्तामा युरोपको भूमिका के हुने भन्ने विषयमा पुटिनले प्रश्न उठाएका छन् । अमेरिकी पक्षले युरोपलाई समेत वार्तामा सहभागी गराउन गरेको आग्रहलाई रुसले अस्वीकार नगरेको बताए पनि युरोपले के योगदान गर्न सक्छ भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
युरोपेली नेताहरूले सन् २०३० सम्ममा रुससँग युद्ध हुन सक्ने सम्भावनाबारे चर्चा गरिरहेको भन्दै पुटिनले असन्तुष्टि जनाए । रुसले कुनै पनि देशमाथि आक्रमण गर्ने योजना नराखेको उनको दाबी छ ।
नेटोको धारा ५ सरह सुरक्षा प्रत्याभूतिको प्रस्ताव
वार्ताका क्रममा युक्रेनको सुरक्षाको विषय पनि महत्त्वपूर्ण रूपमा उठेको छ । अमेरिकी विशेष दूत कुश्नरले रुस युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा प्रत्याभूति दिनेबारे सकारात्मक रहेको दाबी गरेका छन् ।
नेटोको धारा ५ अनुसार गठबन्धनका कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण भए त्यसलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमण मानिन्छ र सामूहिक प्रतिरक्षाको व्यवस्था लागू हुन्छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयदेखि यस्तै सुरक्षा प्रत्याभूति माग गर्दै आएका छन् । तर, रुसले युक्रेनलाई नेटो सदस्य बनाउने प्रस्तावको विरोध गर्दै आएको छ ।
युक्रेनले आफ्नो भूभागसम्बन्धी कठिन सम्झौता स्वीकार गरेमा नेटो सदस्य नभए पनि धारा ५ सरहको सुरक्षा प्रत्याभूति दिने विकल्पमा अमेरिकी वार्ताकारहरूले छलफल गरिरहेको बताइएको छ ।
तर, जेलेन्स्कीले पुटिन शान्तिका लागि अघि सारिएका प्रस्तावहरू स्वीकार गर्न तयार नभएको बताएका छन् । ‘पुटिनले सधैँ अस्वीकार गर्दै आएका छन्,’ उनले भने ।
जर्मन चान्सलर मर्जले पनि शान्तिको सम्भावना बढेको भए पनि त्यसका लागि युक्रेनसँग वास्तविक शान्ति सम्झौता हुनुपर्ने बताए । युरोपेली सुरक्षा रक्षाका विषयमा रुससँग गम्भीर वार्ता गर्न तयार रहेको उनको भनाइ थियो ।
तर, युक्रेन र युरोपको हितविपरीत हुने सम्झौता स्वीकार्य नहुने उनले स्पष्ट पारे । दोस्रो विश्वयुद्धपछि सन् १९४५ मा भएको याल्टा सम्झौताको प्रसंग उल्लेख गर्दै मर्जले ‘याल्टा शैलीको वार्ताले शान्ति ल्याउँदैन’ भने ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले भने युक्रेनलाई रुसी आक्रमणबाट जोगाउन आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन सहयोगी राष्ट्रहरूलाई आग्रह गरेका छन् ।
वार्ताकै बीच युक्रेनमा रुसी आक्रमण तीव्र
कूटनीतिक तहमा शान्तिका लागि पहल भइरहे पनि रुसले युक्रेनमाथिको आक्रमण रोकेको छैन । जाडोयाम नजिकिँदै गर्दा युक्रेनका ऊर्जा पूर्वाधारलाई लक्षित गरी रुसी आक्रमण तीव्र बनाइएको छ ।
बिहीबार बर्लिन र चीनमा कूटनीतिक छलफल भइरहेका बेला युक्रेनको राजधानी किभको ऐतिहासिक पोडिल्स्की क्षेत्रमा ड्रोन आक्रमण भएको थियो । आवासीय भवनमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको थियो ।
आक्रमणबाट नेदरल्यान्ड्स र अस्ट्रियाका दूतावास तथा सेन्ट भोलोदिमिर क्याथेड्रलमा समेत क्षति पुगेको बताइएको छ । रुसी आक्रमणका कारण युक्रेनमा विद्युत् र पानी आपूर्तिमा समेत गम्भीर असर परेको छ ।
यसैबीच, पुटिनले क्रिमियालाई रुससँग जोड्ने क्रिमियन पुलमाथि युक्रेनले गरेको आक्रमणको जवाफ अझ कडा हुने चेतावनी दिएका छन् । पुलमाथिको आक्रमणपछि केही क्षेत्रमा युद्धविरामको सम्भावनाबारे भइरहेको छलफलबाट रुस पछि हटेको उनको भनाइ छ ।
सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेको थियो । त्यसयता विभिन्न चरणमा शान्तिवार्ता भए पनि युद्ध अन्त्य हुन सकेको छैन ।
रुसले युक्रेनी भूभागमाथिको आफ्नो दाबी कायम राख्दै आएको छ भने युक्रेनले आफ्नो भूमि फिर्ता र बलियो सुरक्षा प्रत्याभूतिको माग गर्दै आएको छ ।
यसले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास अघि बढे पनि भूभाग, सुरक्षा प्रत्याभूति र नेटो सदस्यताको विषयमा सहमति जुटाउन अझै कठिन देखिएको छ ।















