आज हरिबोधिनी एकादशी । यस अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा फूलको तोरण टाँगिएको छ ।
हरिबोधिनी एकादशीका दिन नदी वारपार फूलको माला अर्थात् तोरण टाँग्ने परम्परालाई ‘फूल तार्ने’ भनिन्छ । यस दिन देशभरका नारायण मन्दिरमा भगवान् विष्णुको पूजा–आराधना गर्न भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ ।
धार्मिक मान्यताअनुसार हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज अर्थात् हरिबोधिनी एकादशीका दिन ब्युँझने विश्वास गरिन्छ । त्यसैले यस दिनलाई ठूलो एकादशीका रूपमा पनि लिइन्छ ।
हरिबोधिनी एकादशीका दिन घरघरमा रोपेर पूजा गरिएको तुलसीको विधिपूर्वक भगवान् दामोदरसँग विवाह गराउने परम्परा छ । यसका लागि तुलसीको मठलाई गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाइन्छ ।
त्यसपछि भगवान् विष्णुको प्रतीकका रूपमा निगालो गाडेर तुलसीसँग दामोदरको विवाह गराउने धार्मिक विधि पूरा गरिन्छ । तुलसी विवाहसँगै चतुर्मास व्रत पनि समाप्त हुने धार्मिक विश्वास रहेको छ ।
















