म्यानमारमा सैन्य हवाई आक्रमणमा दर्जनौंको मृत्यु, विवाह समारोह र विद्यालयसमेत निशाना

Image

म्यानमारका सेनाले विवाह समारोह स्थल र विद्यालयसहित विभिन्न स्थानमा हवाई आक्रमण गर्दा दर्जनौं नागरिकको मृत्यु भएको छ ।

बीबीसीका अनुसार शनिबार दिउँसो दक्षिणी शान राज्यको मोए बाइ गाउँमा विवाह भइरहेको ठाउँमा गरिएको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । आक्रमणमा अन्य ३५ जना घाइते भएका छन् ।

त्यसअघि बिहीबार मध्य म्यानमारको मग्वे क्षेत्रस्थित इन योन गाउँमा रहेको विद्यालयमा हवाई आक्रमण हुँदा कम्तीमा २० जना सर्वसाधारणको मृत्यु भएको थियो । मृतकमा विद्यार्थी, युवा भिक्षु र शिक्षकसमेत रहेको म्यानमारको निर्वासित सरकार नेसनल युनिटी गभर्मेन्ट (एनयूजी)ले जनाएको छ ।

मग्वे क्षेत्रमा सैन्य शासनविरुद्ध प्रतिरोधी समूहहरू सक्रिय छन् । शनिबार साँझ पश्चिम म्यानमारको राखाइन राज्यस्थित म्राउक–यू सहरमा पनि सेनाले हवाई आक्रमण गरेको थियो । स्थानीय समयअनुसार राति ८ बजे सहरको आवासीय क्षेत्रमा बमबारी गरिएको बताइएको छ ।

उक्त आक्रमणमा १० जनाभन्दा बढीको मृत्यु भएको र करिब २० जना घाइते भएको रिपोर्टहरूमा उल्लेख छ । म्राउक–यू क्षेत्र अराकान आर्मी (एए)को नियन्त्रणमा रहेको छ । अराकान आर्मी म्यानमारको सैन्य शासनविरुद्ध संघर्षरत शक्तिशाली जातीय सशस्त्र समूहहरूमध्ये एक हो ।

यी आक्रमणबारे म्यानमारको सैन्य नेतृत्वको सरकारले भने कुनै प्रतिक्रिया नजनाएको बीबीसीको समाचारमा उल्लेख छ ।