भोटखोलामा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोडियो

संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत बालिएको हो ।

दुर्गम गाउँमा विद्युत पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । योसँगै जिल्लाका १० वटै स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

विद्युत प्रसारण लाइन पुगेपछि भोटखोला–४ र ५ नम्बर वडाका करिब ७० घर लाभान्वित भएका नेपाल विद्युत प्राधिकरण संखुवासभाका प्रमुख सञ्जीव कर्णले बताए। गाउँपालिकाको केन्द्र गोला बजारमा अहिले ५० केभिएको ट्रान्सफर्मर राखेर बत्ती बाल्न सफल भएको उनको भनाइ थियो ।

निकै लामो संघर्षपछि भोटखोलामा बिजुली बाल्न सफल भएको कर्णले बताए । उनका अनुसार सुगम र दुर्गम सबै ठाउँमा राष्ट्रियस्तरका विद्युतीकरण पुर्या‍उने लक्ष्यअनुसार भोटखोलामा राष्ट्रिय प्रसारणलाइन जोडिएको हो ।

जिल्लाको मकालु र सिलिचोङ गाउँपालिकाको केन्द्रसम्म विद्युतीकरण भए पनि वडा र गाउँ स्तरसम्म भने विस्तार हुन बाँकी रहेको विद्युत प्राधिकरणले जनाएको छ ।

खाँदबारी, चैनपुर, मादी, पाँचखपन र धर्मदेवी नगरपालिकाका साथै सभापोखरी र चिचिला गाउँपालिकामा राष्ट्रिय लाइनको विद्युतीकरण विस्तार भएको छ । संखुवासभामा हाल विभिन्न आयोजनाबाट २२ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।