सीआईबीलाई बयान दिएपछि चौधरीले भने- स्टन्टबाजी गर्नेहरूलाई मेरो चरित्रको सर्टिफिकेट बुझाउन पर्दैन

नेपाली कांग्रेसका सांसद एवं उद्योगी विनोद चौधरीले सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको बताएका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएपछि बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित भइ बयान दिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको आरोप लगाएका हुन् ।

बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै चौधरीले भने, ‘उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखियो ।’

उनले आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरूलाई बुझाउन आवश्यक नरहेको बताए । उनले भने, ‘मैले अब ४५ वर्षको आफ्नो यात्रापछि मेरो आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन, त्यो पनि खासगरीकन स्टन्ट गर्नेहरूलाई । म फेरि पनि यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई, लगानी कर्तालाई विशुद्ध राखिनुपर्दछ, राजनीतिका आफ्ना फोरम छन्, आफ्ना तरिका छन्, म पनि नवलपरासी पश्चिमबाट विकासको फर्ममा म प्रत्यक्ष निर्वाचित सांसद हुँ, यी दुई कुरालाई कहिल्यै जोडेको छैन र भोलिका दिनमा पनि गर्नेछैन ।’

यस्तै उनले राज्यले यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानी कर्तालाई विशुद्ध राख्न आवश्यक रहेको बताए । सांसद चौधरीले आफूलाई सरकारी वकिलको कार्यालयबाट मौखिक रुपमा उपस्थित हुन भनेपछि उपस्थिति भएको बतााए । सांसद चौधरीले आफू जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले अनुसन्धानको लागि हयोग गर्न उपस्थित भएको बताए ।

सरकारको नाममा रहेको बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा विनोद चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर लिमिटेडको नाममा गैरकानुनी रुपमा ल्याएको खुलेपछि विनोद चौधरी पनि अनुसन्धानमा तानिएका हुन् ।

सीआईबीले सांसद चौधरीमाथि अनुसन्धान भइरहेको औपचारिक जानकारी सभामुख देवराज घिमिरेलाई पत्र लेखेरै गराएको थियो । लगत्तै बिहीबार बिहान उनी सीआईबीको सम्पर्कमा आएका थिए । उनी आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेपछि सीआईबीले सरकारी वकिलको रोहबरमा बयान लिएको हो ।