साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ४५.९५ अंकले बढेको छ । नेप्से २.२३ प्रतिशतले बढ्दा २१०६.४८ को विन्दुमा पुगेको छ ।
सोमबार नेप्से ३८.१४ अंकले बढ्दा २०६०.४९ को विन्दुमा कायम भएको थियो । आइतबार नेप्से २७.७५ अंकले बढेको थियो ।
नेप्से गएको साउनयता पहिलो पटक २१ सय विन्दुभन्दा माथि पुगेको हो । आज सबै समूहको शेयर उकालो लागेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको शेयर भने सात प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज बजार बढे पनि कारोबार रकम भने सोमबारभन्दा घटेको छ । आज एक करोड ६४ लाख कित्ता शेयर पाँच अर्ब ९८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३७ करोड ४३ लाख र सोल्टी होटलको शेयर २८ करोड ७३ लाख रुपैयाँमा किनबेच भएको छ ।












