चार सय केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन तयार, आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित यो सबस्टेसन धनुषाको ढल्केबरपछिको देशकै दोस्रो ठूलो सबस्टेसन हो ।

यो सबस्टेशनबाट मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सहयोग पुग्ने प्राधिकरणका अधिकारीहरुले जनाएका छन् ।

विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सबस्टेसनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान १० बजे उदघाटन गर्ने कार्यक्रम छ ।

विद्युत स्टेशन उदघाटनका लागि प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ इनरुवा पुगिसकेका छन् ।

प्राधिकरणले इनरुवामा ४०० र २२० केभीका दुईवटा सबस्टेसन निर्माण गरेको छ । करिब तीन अर्ब ८३ करोड रुपैयाँको लागतमा यी दुई सबस्टेशन निर्माण भएका हुन् ।

राष्ट्रिय विद्युत विकास दशक कार्यक्रमअन्तर्गत नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाबाट ४०० केभीको सबस्टेसन निर्माण गरिएको हो । यसअघि सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलियत पूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनावाट २२०/१३२/३३ केभीको सबस्टेसन निर्माण गरिएको थियो ।