बक्यौता नतिर्ने उद्योगको बिजुली काट्न सुरु, शुक्रबार काटियो ४ सिमेन्ट उद्योगको

नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको विद्युत आपूर्ति रोक्न थालेको छ । डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरुमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको छ ।

जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

उनीहरुको बक्यौता क्रमशः १ अर्ब १४ करोड, १ अर्ब ९४ करोड, १ अर्ब ३६ करोड र १ अर्ब ३० करोड रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई तुरुन्त बक्यौता उठाउन निर्देशन दिएका थिए । बक्यौता नतिर्ने उद्योगी व्यवसायीको बिजुली काट्न उनको निर्देशन थियो ।

डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौतालाई लिएर व्यवसायी र प्राधिकरणबीच लामो समयदेखिको विवाद छ ।

२०७२ सालदेखि उद्योगीहरूले ट्रंक र डेडिकेटेडलाइनको सुविधा लिन थालेका थिए ।

देशमा ऊर्जा संकटका बेला दैनिक १८ घण्टासम्म लोडसेडिङ खेपिरहेका बेला केही उद्योगले यो सुविधा पाएका थिए ।

त्यसबेलादेखिको विद्युत महसुल भने ती उद्योगहरूले अहिलेसम्म प्राधिकरणलाई तिरेका छैनन् । यस्तो बक्यौता २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको प्राधिकरणको हिसाबमा छ । यसमा करिब २० अर्ब साँवा र बाँकी हर्जना रहेको छ ।

५८ वटा उद्योगले बक्यौता तिर्न बाँकी छ ।