बारामा मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

बारामा तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१३ बलिरामपुर टोल बस्ने २२ वर्षीय कुन्दन मेहता खत्री र वडा –१२ सितलपुर टोलका २२ वर्षीय अभिमनु कुसवाहा रहेका छन् ।

कलैयाबाट वीरगन्जतर्फ जाँदैगरेको मधेस प्र।०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान प्रसौनी गाउँपालिका –२ दुधौरा खोलाको पुलमा बायाँ साइडको पिलरमा टोकिँदा खत्री र कुसवाहा गम्भीर घाइते भएका थिए ।

घाइते खत्रीको उपचारको क्रममा एसएल न्युरो अस्पताल परवानीपुरमा पौने १ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले जनाएको छ । यसैगरी सोही घटनामा गम्भीर घाइते भएका कुसवाहाको नेशनल मेडिकल कलेज वीरगन्जमा शनिबार बिहान १:३० बजे मृत्यु भएको प्रहरी निरीक्षक रामकुमार महतोले बताए ।