काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले तारेभीर महोत्सव गर्ने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष पनि तारेभीर महोत्सव गर्न लागिएको वडा नम्बर ३ का वडाध्यक्ष मुरारी प्रसाद कुइँकेलले जानकारी दिए ।
‘यहीँ माघ १ गते तारेभीर महोत्सव हुँदैछ । तारेभीर गोकर्णेश्वर नगरपालिकाको आन्तरिक पर्यटकीयस्थल हो । तारेभीर यही वडामा पर्ने भएकाले वडा नम्बर–३को पनि पर्यटकीय स्थल हो’ वडाध्यक्ष कुइँकेलले भने ।
गोकर्णेश्वर नगरपालिकामा अवस्थित तारेभीर अग्लो स्थानमा भएकाले यस स्थलबाट काठमाडौं उपत्यकालगायत अन्य स्थलको दृश्यावलोकन गर्न सकिन्छ । काठमाडौं उपत्यकाबाट करिब ११ किलोमिटर मात्र टाढा छ । गोकर्णेश्वर ३ र वडा नम्बर १बा पनि तारेभीर पुग्न सकिन्छ ।
यस्तै, बुढानीलकण्ठबाट पनि यस स्थानमा पुग्न सकिन्छ । तारेभीर जाने बाटो निर्माणका लागि बूढानीलकण्ड नगर प्रक्रिया अघि बढाएको बूनपा १३ का टीकनाराण श्रेष्ठले जानकारी दिए । महोत्सवले आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनमा सहयोग पुग्ने कुइँकेलले जानकारी दिए ।
काठमाडौं भन्नेवित्तिकै समथर भूमि, ठुला–ठुला भवन, झिलिमिली बत्ती भन्ने उपत्यकाका आम मानिसमा हुन्छ । तर, काठमाडौं जिल्लाका केही नगरपालिकाका केही भूभाग प्राकृतिक रूपमा पहाडी जिल्ला र स्थानलाई बिर्साउने छन् । त्यसमध्येको हो गोकर्णेश्वर नगरपालिका ३ ।
पूर्वमा डोखडोल, पश्चिममा कपन ९ जगडोल, उत्तरमा तारेभीर र दक्षिणमा घट्टेखोला र गणेश मन्दिर रहेको यो भूभागमाले भौगोलिक रूपमा नेपालकै प्रतिनिधित्व गर्छ ।
सहरी प्रभावका कारण यस वडामा पिल्लर र सिमेन्ट घरको बाहुल्यता छ । तर, तारेभीरभन्दा मुनि पुराना–पुराना घरहरू अझै देख्न पाइन्छ ।
खाली जग्गा रहेको यस वडामा पुराना बासिन्दाको तुलनामा नयाँ बासिन्दाको सङ्ख्या अधिक छ । वडा नम्बर ३ को कार्यालयबाट हेर्दा पुछारमा समथर भूमि त्यसपछि बिस्तारै पहाडी भूभाग र माथि तारेभीर देखिन्छ । जसले वडाले हिमाल पहाड र तराईलाई प्रतिनिधित्व गरेझैँ भान पनि गराउँछ । यद्यपि यहाँको हावापानीले नेपालमा पाइने सबै किसिमको हावापानीको प्रतिनिधित्व भने गर्दैन ।
यस वडामा पूर्वाधार निर्माण कार्य प्रारम्भिक चरणमा रहेको अध्यक्ष मुरारीप्रसाद कुइँकेलले जानकारी दिए । तारेभीरमा आवश्यक भौतिक पूर्वाधार र होटेल तथा रिपोर्ट बन्ने क्रम रहेको बताउँदै उनले यस स्थललाई पर्यटकीयस्थलको रूपमा स्थापित गराउन वडा र नगरपालिकाले थप पहल गर्ने कुइँकेलले बताए ।















