मोरङ र ललितपुरमा तीन जनाको हत्या प्रकरणमा जोडिएका थप दुई जना पक्राउ परेका छन् । प्रहरीले मोरङ रंगेली नगरपालिका वडा नं.३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नं ६ जिरोगौवा बस्ने १८ वर्षीय मोहमद हकिमलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरू ‘लो प्रोफाइल’ का मान्छे हुन्। यही माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको हत्या गरी मोरङको धनपालथानस्थीत उखुबारीमा गाडेको अवस्थामा प्रहरीले शव बरामद गरेका थियो । चौधरीको शव माघ १२ गते र श्रेष्ठको शव माघ १३ गते बरामद भएको थियो ।
यस्तै, तेह्रथुमको संक्रान्ति–२ घर भइ काठमाडौं महानगर–८ गोठाटार बस्दै आएका ६३ वर्षीय मोहन लिम्बुको शव प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलको गोदाम परिसरमा खाल्डो खनेर गाडेको अवस्थामा बरामद गरिएको थियो ।
उनीहरूलाई सप्तरीका शम्भुकुमार चौधरी र सुनसरीका राजेन्द्रकुमार श्रेष्ठको हत्या गरी खाल्डो खनी गाडेको कसूरमा प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरेको जनाएको छ।
यसअघि जग्गा कारोबारको नाफामा विवाद हुँदा तीन साझेदारको हत्या गर्ने मुख्य योजनाकार अनिल मण्डलसहित तीन जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको थियो ।
यसअघि पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका–२१ घर भइ काठमाडौंको बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्बनीको २९ वर्षीय दिनानाथ साह र धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलम छन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














