पेट्रोलियम पदार्थको मूल्यवृद्धि र एमसीसीको विरोधमा अनेरास्ववियूको मसाल जुलुस

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मसाल जुलुस निकालेका छ ।

अनेरास्ववियुले काठमाडौंको शंकरदेव क्याम्पसबाट मशाल जुलुस निकालेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेर मसाल निभाएको थियो । प्रदर्शनका क्रममा विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर, महँगी नियन्त्रण गर, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जनतालाई कर थपेर सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि उच्च बनाएको आरोप लगाए । करको मूल्य बढाएर जनताको जीवनयापन थप कष्टकर भएको भन्दै उनले जनताको चूलो निभाएर बालुवाटार हाँस्न नसक्ने बताए । उनले निगमभित्रको बेथिति अन्त्य गर्नुपर्ने उल्लेख गरे । त्यस्तै उनले एमसीसी मुलुकको हित विपरीत रहेकाले यसलाई पारित गर्न नहुने जिकिर गरेका छन् ।

उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । यता नेकपा एकीकृत समाजवादीले पनि एमसीसीलाई यथावस्थामा अघि बढाउन नहुने बताउँदै आएको छ ।