लिङ्देन र थापाबीचको संवादहीनता तोडियो, सम्वाद जारी राख्ने सहमति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र निवर्तमान अध्यक्ष कमल थापा बीचको संवादहीनता तोडिएको छ ।

गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनबीच अध्यक्ष लिङ्देन र निवर्तमान अध्यक्ष थापाबीच भेटघाट तथा संवाद हुन सकेको थिएन । पार्टीमा देखा परेको आन्तरिक मतभेदको समाधानका लागि पार्टी अध्यक्ष लिङ्देनले शनिबार थापालाई बुढानिलकण्ठस्थित उनकै निजी निवासमा पुगेर भेट गरेका थिए ।

राप्रपामा आन्तरिक मतभेद्का कारण निवर्तमान अध्यक्ष थापा नयाँ दल खोल्ने तयारीमा रहेको भन्ने विषय मिडियामा आएपनि लिङ्देन र थापाबीचको छलफलमा भने सम्वाद जारी राख्ने सहमति भएको राप्रपाका पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।

छलफलमा पूर्वअध्यक्ष थापाले अहिले कुनै पनि गतिविधि अगाडि नबढाउने सहमति भएको समेत जानकारी दिए ।

पार्टीमा कोही असन्तुष्ट हुनुपर्ने अवस्था छैन : अध्यक्ष लिङ्देन
आइतबार राप्रपाको विधान अनुरुप अध्यक्ष लिङ्देनद्धारा मनोनित २४ पदाधिकारीलाई पार्टी कार्यालयमा स्वागत एवम् मनोनयन पत्र हस्तान्तरण पनि गरिएको छ । यसै क्रममा अध्यक्ष लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

विगतका केही समस्याहरु निकट भविष्यमा नै टुंगोमा पुर्‍याइने र पार्टीका नेता, कार्यकर्तालाई निराश नबनाइने उनको भनाइ छ । समारोहमा निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पार्टीका निर्वाचित पदाधिकारीले नवनियुक्त पदाधिकारीलाई शुभकामना दिएका छन् ।