आजबाट राष्ट्रियसभाका २० सांसदको पदावधि सकिदैँ छ । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चारवर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिन लागेको हो । रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चारवर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो ।
नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद बिदा हुदैँछन् । पहिलो एक तिहाई सदस्य २ वर्षे कार्यकाल सकेर विदा भएका छन् । दोस्रो एक तिहाई अर्थात २० जनाको कार्यकाल गोला तानेर ४ वर्ष तोकिएकोमा सकिएको हो ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० जना भने पूरा ६ वर्षे कार्यकाल पूरा गर्नेमा पर्छन् । एमालेका सांसदहरु सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, कोमल वली, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार र अगम वान्तवा राई चार वर्षको अवधि पूरा गरेर विदा हुँदैछन् ।
यस्तै माओवादी केन्द्रबाट निर्वाचित शशीकला दाहाल, दीनानाथ शर्मा, जीवन बुढा र खिमकुमार विकको पदावधि पनि आजबाट सकिँदैछ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीमा रहेका ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल र शान्तिकुमारी अधिकारी पनि बिदा हुँदैछन् । यी चारै जना नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । एमाले विभाजन हुँदा चार जनाले नेकपा एकीकृत समाजवादी रोजेका थिए । यस्तै, नेपाली कांग्रेस राधेश्याम अधिकारी, तारादेवी भट्ट र दृगनारायण पाण्डे पदमुक्त हुँदैछन् । साथै अर्का मनोनित सांसद रामनारायण बिडारी पनि बिदा हुँदैछन् ।















