गेटा मेडिकल कलेजका लागि भइरहेको आन्दोलनको कुनै अर्थ छैन : आरजु राणा

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले कैलालीमा गेटा मेडिकल कलेजका लागि भइरहेको आन्दोलनको कुनै अर्थ नभएको टिप्पणी गरेकी छन् ।उनले गेटा मेडिकल कलेज बारे भइरहेको आन्दोलन सुन्दा अचम्म लागेको समेत बताएकी छन् । ‘गेटामा रहेको क्याम्पस सम्बन्धी विभिन्न टिका टिप्पणी भइरहेको र आन्दोलन समेत भइरहेको सुन्दाखेरि कैलालीमा अचम्म लागेको छ’ उनले भनेकी छन् ।

भिडियो सन्देश मार्फत उनले गेटा मेडिकल कलेजको लागि यसै आर्थिक वर्षमा बजेट व्यवस्था हुने आश्वासन दिँदै बेकारको आन्दोलन भइरहेको अभिव्यक्ति दिएकी हुन् ।

‘निर्वाचनका कारण ढिला भएको हो । एक दुई हप्तामै समिति बन्छ । सञ्चालनको लागि यो बजेटमा बजेट आउँछ’ उनले भनिन् ‘यो बेकारको आन्दोलन गर्ने र बेकारको भ्रम सिर्जना नगर्न म अनुरोध गर्न चाहन्छु ।’

आफूले चुनावमा समेत यस विषयमा बताउँदै आएको उनले स्मरण गराएकी छन् । ‘मैले चुनावको दौरानमा अवगत गराएको थिए र त्यहाँको डाक्टरलाई पनि अवगत नै छ । चैत्र ४ गते त्यहाँ ३०० शय्याको अस्पताल खोल्ने निर्णय भइरहेको कुरा बाहिर आइसकेको छ’ उनले भनिन्, ‘नेपाल सरकारको नियम अनुसार तीन वर्ष अस्पताल चलाएपछि मात्रै क्याम्पस चलाउन सकिन्छ । त्यही नियम अनुसार पहिला गेटामा अस्पताल सञ्चालन चाडै हुन गइरहेको छ ।’

मंगलबार सरकारले ल्याएको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको विषय उल्लेख नभए पनि कैलालीमा आन्दोलन भइरहेको छ । नीति तथा कार्यक्रममा मेडिकल कलेज नसेटिएपछि करिब ९० प्रतिशत पूर्वाधार तयार भइसकेको गेटामा अन्यौलता सृजना भइरहेको छ ।