सत्ता गठबन्धनका शीष नेताहरुबीच तत्काल मन्त्रीहरुको हेरफेर नगर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा उक्त सहमति भएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । सहमतिसँगै नेकपा एसले फिर्ता बोलाएका मन्त्रीहरुको पद जोगिएको छ ।
एसले चार जना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्न हिजो आइतवार प्रधानमन्त्रीलाई नामावली बुझाएको थियो ।
एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री छन् । राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुवँरलाई श्रम रोजगार र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी थियो ।
मन्त्री परिवर्तनको विषयलाई लिएर एकीकृत समाजवादीमा विवाद बढेको छ । आफूहरूलाई फिर्ता बोलाउने निर्णयप्रति बहालवाला मन्त्रीहरूले चर्को असन्तुष्टि जनाएका छन् भने मन्त्री बन्न ठिक्क परेकाहरूले जसरी पनि पुराना मन्त्री फिर्ता बोलाउनुपर्ने अडान राखेका छन् । यो विवादबारे पार्टीको बैठक बोलाएर छलफल गर्ने अध्यक्ष माधव नेपालले तयारी गरेका छन् ।
https://www.tvannapurna.com/70164/2022/06/06/













