आफ्नो मन्त्रालयमा बजेट घटाएको भन्दै अर्थमन्त्रीसँग मन्त्री झाँक्री असन्तुष्ट

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश व्यक्त गरेकी छिन्।उनले शहरी विकाससम्बन्धी करिब साढे ५ सय योजना ५० लाखको मात्र बनाएको भन्दै आक्रोश व्यक्त गरिन् ।

सोमवार गृह मन्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकमा मन्त्री झाँक्रीले देशको योजना व्यवस्थित नभएको, एउटा मन्त्रालयले दिएको नीति, कार्यक्रम अर्को मन्त्रालयले गोप्य राख्ने र बाहिर निकाल्दा छरपस्ट बनाएको आरोप लगाइन्। उनले राजनीतिक गफ गर्नका लागि मात्रै योजना बनाएको र बजेट छुट्याएको जस्तो नगर्न पनि आग्रह गरिन् ।

उनले बजेटका कारण करिव एक हप्ताको समय आफैँ सामान्य रुपमा आउन नसकेको बताइन्। मन्त्री झाँक्रीले शर्त गरेपछि कार्यान्वयन गर्नुपर्ने तरिकाले काम अघि बढाउनुपर्ने धारणा व्यक्त गरिन् ।

‘करिव करिव साढे ५ सय योजना ५० लाखको बनाएर शहरी विकासमा हालेपछि हुन्छ चाहिँ के ? पोल्टिसिएनलाई मात्रै गफ गर्ने। व्यक्ति हस्तान्तरणको गफ गर्छौं । संघले छानेका आयोजना तल कार्यान्वयन गर भनेर दिनु कुन संघीयताको पक्षधरता हो ?’ उनले भनिन् ।

मन्त्री झाँक्रीले सबै विपद्का कार्यक्रम र योजना एकैपटक नभइ दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने हिसावले अघि बढ्नुपर्ने बताइन्।